काठमाडौं । संघीय संसद्को चालु बर्खे अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ। अधिवेशनको अन्तिम बैठक शुक्रबार बसेपछि सभामुख डोलप्रसाद अर्यालले राति १२ बजेदेखि अधिवेशन अन्त्य हुने जानकारी गराउँदै बैठक समापन गरे।

अन्तिम बैठक सकिएपछि प्रतिनिधिसभा र राष्ट्रिय सभामा उपस्थित सांसदहरूबीच केहीबेर सौहार्दपूर्ण माहोल देखियो। उनीहरूले एकअर्कासँग हात मिलाउनुका साथै सामूहिक फोटो खिचाएर अधिवेशनबाट बिदा भए।

ad

सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्थाअनुसार प्रक्रिया अघि बढाइएको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै त्यससम्बन्धी पत्र राष्ट्रपति कार्यालयमा पठाएको थियो।

संघीय संसद्को यो अधिवेशन २०८३ वैशाख २८ गतेदेखि सुरु भएको थियो। अधिवेशनका क्रममा सरकारले प्रस्तुत गरेको बजेट तथा बजेटसँग सम्बन्धित विभिन्न विधेयक पारित भएका छन्।

यसैगरी, संसद् अधिवेशन नरहेका बेला सरकारले जारी गरेका विभिन्न अध्यादेश पनि यही अधिवेशनबाट स्वीकृत भएका छन्। ती अध्यादेशले संशोधन गरेका कानुनी व्यवस्थालाई निरन्तरता दिन ल्याइएका अध्यादेश प्रतिस्थापन विधेयकसमेत संसद्बाट पारित भई ऐनमा परिणत भएका छन्।

अधिवेशन अन्त्यसँगै संसद्का नियमित बैठक तत्कालका लागि स्थगित भएका छन्। आगामी अधिवेशन कहिले आह्वान गर्ने भन्ने विषय भने संवैधानिक प्रक्रियाअनुसार तय हुनेछ।