
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार रास्वपा सभापति रवि लामिछाने, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समारोहलाई सम्बोधन गर्ने तय भएको छ।
उद्घाटन समारोहमा अन्य दलका प्रमुख नेताहरूको पनि उपस्थिति रहनेछ। कांग्रेसका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी हुने निश्चित भएको छ।
त्यस्तै, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल पनि समारोहमा सहभागी हुनेछन्।
महाधिवेशनमा अन्तर्राष्ट्रिय पाहुनाको सहभागिता पनि रहने भएको छ। सोसलिस्ट इन्टरनेशनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा महाधिवेशनमा सहभागी हुन नेपाल आइसकेको प्रवक्ता चालिसेले जानकारी दिए।
उनका अनुसार अन्य अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता पनि सुनिश्चित गर्ने प्रक्रिया जारी छ। महाधिवेशन उद्घाटन समारोहमा देशभित्रका प्रमुख राजनीतिक दलका नेतासँगै अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागिता रहने कांग्रेसले जनाएको छ।









Facebook Comments