काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारहरूले गर्ने प्रचारप्रसारलाई निर्वाचन समितिले कडाइ गर्ने भएको छ। केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा उम्मेदवारी दिने आकांक्षी तथा उम्मेदवारका लागि थप कडा निर्वाचन आचारसंहिता लागू गरेको हो।

समितिका सदस्य सचिव राजु कटुवालले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत नयाँ व्यवस्थाबारे जानकारी गराएका हुन्। उनका अनुसार महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन तडकभडक तथा भड्किलो प्रचार अभियानमा रोक लगाइएको छ।

ad

निर्वाचन समितिले महाधिवेशन स्थल र आसपासका क्षेत्रमा प्रिन्ट तथा भौतिक प्रचार सामग्री प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेटलगायत कुनै पनि प्रकारका प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न नपाइने समितिले जनाएको छ।

त्यस्तै, महाधिवेशन स्थलको बाहिरी परिसर, सार्वजनिक सडक तथा आसपासका क्षेत्रमा समेत भौतिक प्रचारप्रसार गर्न रोक लगाइएको छ। उम्मेदवार वा समर्थकहरूले त्यस्ता क्षेत्रमा प्रचार सामग्री प्रदर्शन गर्न नपाउने व्यवस्था गरिएको हो।

समितिले उम्मेदवारलाई डिजिटल माध्यमबाट भने आफ्ना एजेण्डा तथा उम्मेदवारीसम्बन्धी विवरण सार्वजनिक गर्न अनुमति दिएको छ। सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यममार्फत प्रचारप्रसार गर्न सकिने जनाइएको छ।

विपद्पछिको परिस्थितिलाई समेत ध्यानमा राख्दै महाधिवेशनलाई खर्चिलो र प्रदर्शनमुखी नबनाउने उद्देश्यले प्रचारसम्बन्धी व्यवस्थालाई कडाइ गरिएको निर्वाचन समितिको भनाइ छ।