काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आगामी १५औँ महाधिवेशनबाट गगन थापा सर्वसम्मत रूपमा पार्टी सभापति बन्न सक्ने सम्भावना रहेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा चालिसेले पार्टीभित्र देखिएका मतभेदलाई ठूलो विवादका रूपमा लिन नहुने दाबी गर्दै महाधिवेशनका लागि आवश्यक आन्तरिक तयारी पूरा भइसकेको बताए।

ad

उनले कांग्रेस विधान र वैधानिक प्रक्रियाअनुसार अघि बढिरहेको उल्लेख गर्दै नेतृत्व चयनमा सबै पक्षलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको बताए। व्यक्तिगत आकांक्षालाई पार्टीभित्रको विवादका रूपमा प्रस्तुत गर्न नहुने उनको भनाइ थियो।

चालिसेले कांग्रेसमा अग्रजलाई सम्मान गर्दै युवालाई नेतृत्वमा अवसर दिने नीति रहेको बताए। उनका अनुसार यसपटक देशभरबाट करिब ५६ हजार युवा पार्टीको नेतृत्व तहमा आएका छन्।

महाधिवेशन उद्घाटनका लागि पूर्वसभापति शेरबहादुर देउवालाई निमन्त्रणा गरिएको जानकारी दिँदै उनले कांग्रेसले नयाँ ऊर्जा र उत्साहका साथ महाधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेको बताए।

पार्टीको आधिकारिक ब्यानर वा नाम अनधिकृत रूपमा प्रयोग गर्नेहरूमाथि भने अनुशासनको कारबाही हुने उनले स्पष्ट पारे। पार्टीको विधान र निर्णयविपरीत गतिविधि गर्ने जोसुकैलाई अनुशासन समितिले आवश्यक कारबाही गर्ने उनको भनाइ थियो।

चालिसेले कांग्रेसभित्र नेतृत्व परिवर्तनको विषयमा पनि छलफल भइरहेको संकेत गर्दै आगामी महाधिवेशनबाट गगन थापा सर्वसम्मत सभापति बन्ने वातावरण बन्न सक्ने बताए।

कार्यक्रममा अन्य दलका नेताहरूले पनि समसामयिक राजनीतिक तथा सामाजिक विषयमा धारणा राखेका थिए।