
काठमाडौं । सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्य पद यथाशीघ्र पूर्ति गर्ने तयारी गरेको जनाएको छ।
बिहीबार बसेको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले रिक्त पदमा पदपूर्तिको प्रक्रिया छिट्टै अघि बढाइने जानकारी दिइन्।
उनका अनुसार रिक्त पदमा व्यक्तिको छनोट गर्दा समावेशिता, योग्यता, राष्ट्रिय जीवनमा पुर्याएको योगदान तथा राष्ट्रियसभाको गरिमालाई आधार बनाइनेछ।
हाल राष्ट्रियसभामा दुई सदस्य पद रिक्त छन्। त्यसमध्ये एक सदस्य नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ भने अर्को पद निर्वाचित सदस्यतर्फको हो।
मन्त्री गौतमले राजनीतिक तथा सरकार परिवर्तनको संक्रमणकालीन अवस्थाका कारण राष्ट्रपतिबाट मनोनीत हुने सदस्यको पदपूर्ति समयमै हुन नसकेको बताइन्।
निर्वाचित सदस्यतर्फको रिक्त पदका लागि भने निर्वाचन आयोगले प्रचलित कानुनअनुसार उपनिर्वाचनको प्रक्रिया अघि बढाउने तयारी गरिरहेको उनले जानकारी दिइन्।
सरकारले आगामी दिनमा राष्ट्रियसभामा कुनै सदस्य पद रिक्त भएलगत्तै समयमै पदपूर्ति तथा निर्वाचन प्रक्रिया अघि बढाउने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र संघीय संसद्बीच प्रभावकारी समन्वय गर्ने नीति लिएको पनि मन्त्री गौतमले बताइन्।









Facebook Comments