
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं तत्काल थुनामुक्त नहुने भएका छन्। साइबर अपराधसम्बन्धी अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले उनलाई थप एक दिन हिरासतमा राख्न अनुमति दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा पक्राउ परेका प्रसाईंमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। सोही अनुसन्धानका लागि साइबर ब्युरोले उनलाई हिरासतमा राख्न अदालतसँग अनुमति मागेको थियो।
यसअघि प्रसाईंको तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट दायर भएपछि सर्वोच्च अदालतले उनलाई अदालतसमक्ष उपस्थित गराउन आदेश दिएको थियो।
प्रसाईंमाथि सामाजिक सञ्जालमार्फत आपत्तिजनक सामग्री तथा अभिव्यक्ति दिएको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको पक्राउ र हिरासतविरुद्ध परेको रिटमा सर्वोच्चमा समेत सुनुवाइ जारी छ।
जिल्ला अदालतले थप एक दिन अनुसन्धानका लागि अनुमति दिएसँगै प्रसाईं अहिले पनि प्रहरी हिरासतमै रहने भएका छन्।









Facebook Comments