
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिक सभापति आफू नै रहेको दाबी गर्दै शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनबारे निर्वाचन आयोगलाई जानकारी गराएका छन्।
देउवा सभापति रहेको उल्लेखसहितको पत्र कांग्रेसको संस्थापन इतर पक्षले निर्वाचन आयोगमा दर्ता गराएको हो। पत्रमा आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्ने जानकारी दिइएको छ।
आयोगमा बुझाइएको पत्रमा देउवाले सभापतिको हैसियतमा हस्ताक्षर गरेका छन्। यसले पार्टीको आधिकारिक नेतृत्व र संगठनात्मक हैसियतमा आफ्नो दाबी कायमै रहेको देउवा पक्षको संकेतका रूपमा लिइएको छ।
पत्रमा कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा परेको पुनरावेदनको सुनुवाइ हुन बाँकी रहेको उल्लेख गरिएको छ। अदालतबाट उक्त विवादको अन्तिम टुंगो लाग्न बाँकी रहेकै अवस्थामा देउवा पक्षले आफ्नो नेतृत्वमा महाधिवेशन गर्ने प्रक्रिया अघि बढाएको हो।
कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर दुई पक्षबीच समानान्तर गतिविधि भइरहेका छन्। संस्थापन पक्षले आफ्नो कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाइरहेको छ भने देउवा पक्षले मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ।
निर्वाचन आयोगमा देउवाको हस्ताक्षरसहित महाधिवेशनसम्बन्धी जानकारी दर्ता गरिनुलाई देउवा पक्षले पार्टीको आधिकारिक नेतृत्वमाथिको आफ्नो दाबी संस्थागत रूपमा अघि बढाएको रूपमा प्रस्तुत गरेको छ।
अब कांग्रेसको आधिकारिकता, महाधिवेशनबाट बन्ने नेतृत्व र पार्टीको संगठनात्मक संरचनाबारे देखिएको विवाद अदालतको निर्णयसँग पनि जोडिएको छ। अदालतको निर्णय र निर्वाचन आयोगको अभिलेखमा रहेको विवरणले आगामी प्रक्रियामा कस्तो प्रभाव पार्छ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।









Facebook Comments