
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले दक्ष तथा शिक्षित युवा विदेशिने क्रम रोक्न सरकारले तत्काल नीतिगत सुधार गर्नुपर्ने बताएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै न्यौपानेले युवालाई स्वदेशमै रोजगारी र भविष्यको सम्भावना देखाउने गरी ठोस योजना ल्याउन सरकारसँग माग गरे।
नेपालको शिक्षा प्रणालीले उत्पादन गर्ने जनशक्ति र देशभित्रको श्रम बजारबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै उनले यसलाई राष्ट्रिय समस्याका रूपमा लिनुपर्ने बताए। राज्यले युवालाई स्वदेशमै पर्याप्त अवसर दिन नसक्दा मुलुकबाट दक्ष जनशक्ति बाहिरिइरहेको उनको भनाइ थियो।
न्यौपानेले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र अनुभवलाई नेपालको विकाससँग जोड्ने नीति आवश्यक रहेको बताए। विदेशमा रहेका जनशक्तिलाई राष्ट्र निर्माणमा सहभागी गराउन सके मुलुकले त्यसबाट लाभ लिन सक्ने उनको धारणा थियो।
‘नेपालले बच्चा हुर्काउँछ, पढाउँछ र योग्य बनाउँछ, तर युवा अवस्थामा पुग्दा श्रम, सीप र सपना बोकेका युवाहरू विदेशिन बाध्य छन्,’ उनले भने, ‘शिक्षादीक्षा नेपालमा, देश बनाउने उमेरमा विदेशमा, अनि बुढेसकाल फेरि नेपालमै फर्किने अवस्थाको अन्त्य गर्नुपर्छ।’
उनले गैरआवासीय नेपालीको ज्ञान, सीप, पुँजी र अनुभवलाई मुलुकको आर्थिक तथा सामाजिक विकासमा उपयोग गर्ने गरी कानुनी र नीतिगत व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।
युवालाई स्वदेशमै टिकाउन शिक्षा, रोजगारी र उद्यमशीलताबीच समन्वय कायम गर्दै दीर्घकालीन कार्ययोजना बनाउनुपर्नेमा पनि सांसद न्यौपानेले जोड दिए।









Facebook Comments