काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शम्भुप्रसाद ढकालले सार्वजनिक पदमा भइरहेका नियुक्तिको प्रक्रियामाथि सरकारसँग प्रश्न गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नियुक्ति योग्यता र क्षमताका आधारमा भइरहेको छ कि पहुँच र सम्बन्धका आधारमा भइरहेको छ भन्ने प्रश्न उठाए।

ढकालले पार्टी सभापति रवि लामिछानेले नेतृत्वमाथि प्रश्न गर्न आग्रह गरेको उल्लेख गर्दै आफूले त्यही भावनाअनुसार सरकार र आफ्नै सहकर्मीमाथि प्रश्न गरिरहेको बताए।
उनले सार्वजनिक पदमा नियुक्ति गर्दा अपनाइएको छनोट प्रक्रिया पारदर्शी हुनुपर्नेमा जोड दिए। नागरिकले आफूले चुनेर पठाएका प्रतिनिधिबाट नियुक्तिको आधार र प्रक्रिया जान्न पाउने उनको भनाइ थियो।

ad

‘नियुक्तिको मेरिटको आधारमा कि म्यारिजको आधारमा भन्ने प्रश्नको जवाफ हामीले के दिने?’ भन्दै ढकालले सरकारलाई प्रश्न गरे।

उनले २०८२ मंसिर २४ गते जेनजीसँग भएको सम्झौताको सातबुँदे सहमतिमध्ये सम्बन्धित बुँदा अध्ययन गर्न पनि आग्रह गरे। छनोट प्रक्रियामा सहभागी नै नगराउने भए योग्य र विज्ञ व्यक्तिलाई आवेदन दिन लगाउनु उनीहरूको अपमान हुने उनको तर्क थियो।

ढकालले सार्वजनिक नियुक्तिमा ‘राम्रा मान्छेभन्दा हाम्रा मान्छे’ खोज्ने प्रवृत्ति दोहोरिए र विगतका राजनीतिक दलले गरेका गल्तीबाट नचेते रास्वपा पनि जनताको विश्वास गुमाउने अवस्थामा पुग्ने चेतावनी दिए।

‘हामी सरकार र मन्त्रीका ढाल पनि हौँ। त्यसैले हाम्रो चिन्ता, ढालहरू पातलिए र मक्किए भने जनताको नजरले छेडिनेछन्,’ उनले भने।

उनले सरकारले पाँच वर्षमा राजनीतिक विकृति हटाएर सुशासन कायम गर्ने लक्ष्य राख्नुपर्ने बताए। जनताले विगतका दल र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै नयाँ शक्तिलाई जिम्मेवारी दिएको स्मरण गर्दै उनले नयाँ नेतृत्वले पनि पुरानै गल्ती दोहोर्याए जनताप्रतिको विश्वास संकटमा पर्ने बताए।

सांसद ढकालले मन्त्री र सरकारका कमजोरीप्रति पार्टीभित्रैबाट प्रश्न उठाउनुपर्ने धारणा राखे। क्षमताको अभाव वा गलत नियत भएका मन्त्रीसँग सम्झौता गर्दा सरकार र राजनीतिक अभियान दुवै कमजोर बन्न सक्ने उनको भनाइ थियो।

उनले कृषि अनुदान, वैदेशिक रोजगारीलगायतका नाममा सर्वसाधारणसँग रकम असुल्ने प्रवृत्तिको पनि आलोचना गरे। सार्वजनिक पदमा नियुक्त हुने व्यक्तिको योग्यता, क्षमता र नियतमाथि गम्भीर ध्यान दिनुपर्ने भन्दै उनले जहाँ गल्ती भएको छ, तत्काल सच्याउन सरकारसँग आग्रह गरे।

‘सबै नियुक्ति मेरिटोक्रेसीको आधारमा गरौँ र हामी आफ्नो गल्ती सच्याउन सक्छौँ भनेर सन्देश दिऔँ,’ ढकालले भने।
उनको सम्बोधनमा सरकारका निर्णय, सार्वजनिक नियुक्ति र पार्टीभित्रको जवाफदेहिताबारे प्रश्न उठाउँदै जनताको विश्वास कायम राख्न पारदर्शिता र योग्यतामा आधारित निर्णय आवश्यक रहेको विषय मुख्य रूपमा उठाइएको थियो।