
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टीभित्र समानान्तर रूपमा अघि बढिरहेका दुवै पक्षका महाधिवेशन प्रक्रियाबाट तत्कालका लागि अलग बसेका छन्।
कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशनका लागि क्षेत्रीय अधिवेशनहरू अघि बढाइरहेको छ भने सभापति शेरबहादुर देउवा पक्षले पनि छुट्टै अधिवेशन प्रक्रिया सुरु गरेको छ। दुवै पक्षका गतिविधिमा कोइराला सहभागी नभएपछि उनको भूमिकालाई लिएर कांग्रेसभित्र चासो बढेको छ।
बुधबारसम्म कोइराला पक्ष देउवा समूहले अघि बढाएको अधिवेशन प्रक्रियामा सहभागी हुने चर्चा थियो। तर, उनले दुवै पक्षका कार्यक्रममा सहभागी नहुने र तटस्थ रहने नीति लिएका छन्। पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि दुवै पक्षको अधिवेशन प्रक्रियामा सहभागी भएका छैनन्।
कोइरालाले तत्काल कांग्रेसभित्र एकता कायम हुने अवस्था नरहेको भन्दै दुवै पक्षलाई आ–आफ्नो महाधिवेशन प्रक्रिया पूरा गर्न दिनुपर्ने धारणा राखेका छन्।
‘म आज पनि कांग्रेस एकताका लागि पहल गरिरहेको छु। अहिले नै कांग्रेस एक हुने सम्भावना छैन। दुवैको महाधिवेशन सक्न दिनुहोस्, त्यसपछि कुरो हुन्छ,’ कोइरालाको भनाइ उद्धृत गरिएको छ।
संस्थापन पक्षले असोजमै १५औँ महाधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेको छ भने देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने तयारी अघि बढाएको छ। दुवै पक्षले फरक समयतालिका र प्रक्रियाअनुसार गतिविधि अघि बढाएपछि कांग्रेसभित्र संगठनात्मक विवाद थप जटिल बनेको छ।
यसैबीच, नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा भएको झडप र तोडफोडको घटनामा डा. शेखर कोइरालाको कुनै संलग्नता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ।
कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले सामाजिक सञ्जालमार्फत अधिवेशनस्थलमा भएको घटनासँग कोइरालाको नाम जोडेर प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्।
उनका अनुसार कोइराला पार्टी एकताको पक्षमा रहँदै महाधिवेशन प्रक्रियाबाट तटस्थ बसेकाले मोरङ–६ को घटनामा उनको कुनै भूमिका छैन।
सुन्दरहरैँचा नगरपालिका–४ स्थित सिग्देल बन्धु प्रतिष्ठानको भवनमा असोज १४ गते भएको क्षेत्रीय अधिवेशनका क्रममा कार्यकर्ताबीच झडप, कुटपिट र तोडफोड भएको थियो। घटनामा महासमिति सदस्य तथा पूर्वसांसद चुमनारायण तबदार, नेता चेतराज रेग्मी र उम्मेदवार सौरभ पोखरेलसहित केही नेता–कार्यकर्ता घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
घटनापछि कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले सञ्चारमाध्यमसँग कुरा गर्दै क्षेत्रीय सभापति देबु तामाङको योजनामा फलामका भाटासहित आक्रमण भएको र त्यसमा कोइराला पक्षका समर्थक तथा शुभेच्छुकको संलग्नता रहेको आरोप लगाएकी थिइन्।
तामाङले भने क्रियाशील सदस्यताको पुरानो विवाद तथा सहमहामन्त्री संग्रौला पक्षभित्रकै उम्मेदवारीसम्बन्धी विवादका कारण घटना भएको दाबी गरेका छन्।
मोरङ कांग्रेसले यसअघि नै घटनाको भर्त्सना गर्दै संलग्नलाई निलम्बन गरी विधानअनुसार कारबाही गर्न केन्द्रीय नेतृत्वसँग माग गरिसकेको छ।
कोइराला सचिवालयको पछिल्लो स्पष्टोक्तिसँगै मोरङ–६ को अधिवेशनमा भएको घटनालाई लिएर कांग्रेसभित्रको आरोप–प्रत्यारोप थप चर्किएको छ। यससँगै पार्टीको समानान्तर महाधिवेशन प्रक्रिया र त्यसले निम्त्याउन सक्ने संगठनात्मक विवादबारे पनि कांग्रेसभित्र बहस बढेको छ।









Facebook Comments