
काठमाडौं । नेपाली कांग्रेसमा दुई छुट्टाछुट्टै महाधिवेशनको तयारी भइरहेका बेला नेता शेखर कोइराला निकट केही नेताले दुवै महाधिवेशनमा सहभागी नहुने बताएका छन्। उनीहरूले कार्यकर्तालाई भने आफूअनुकूल निर्णय लिन आग्रह गरेका छन्।
गगन थापा नेतृत्वको कांग्रेसले असोज १८ देखि २२ गतेसम्म १५औँ महाधिवेशन आयोजना गर्दैछ। त्यसको विकल्पमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।
दुई पक्षले समानान्तर रूपमा महाधिवेशनको तयारी गरिरहेका बेला शेखर कोइराला निकट नेताहरू भने कुनै एक पक्षमा औपचारिक रूपमा नखुलेर पार्टी एकताको पक्षमा उभिएका छन्।
कोइरालाले आफू दुवै महाधिवेशनमा सहभागी नहुने र कांग्रेसभित्रको विभाजन अन्त्य गर्दै पार्टी एकताका लागि पहल गर्ने बताउँदै आएका छन्। उनी निकट बलबहादुर केसी, बद्री पाण्डे र सञ्जय गौतमलगायत नेताहरू पनि यही धारमा देखिएका छन्।
नेता सञ्जय गौतमका अनुसार आफूहरूमध्ये केही दुवै महाधिवेशनमा सहभागी नहुने भए पनि कार्यकर्तालाई कुनै एउटा महाधिवेशन रोज्न दबाब नदिने नीति लिइएको छ।
‘हामी केही नेताहरू दुवै महाधिवेशनमा सहभागी हुँदैनौँ,’ गौतमले भने, ‘नेता–कार्यकर्तालाई यो महाधिवेशनमा भाग लिनू, अर्कोमा नलिनू भनेर भनेका छैनौँ। स्वविवेकका आधारमा आफैँ निर्णय लिनुहोस् भनेका छौँ।’
कोइराला निकट केही नेता तथा कार्यकर्ता गगन थापा पक्षले असोज ३ गतेदेखि सुरु गरेको वडा अधिवेशनमा सहभागी भइसकेका छन्। त्यस्तै, देउवा पक्षले असोज १५ गतेदेखि सुरु गर्ने वडा अधिवेशनमा पनि कोइराला निकट कार्यकर्ताहरू सहभागी हुने सम्भावना रहेको नेताहरू बताउँछन्।
शेखर कोइराला पार्टीभित्रको विवाद समाधान र एकताको प्रयासमा केन्द्रित हुँदा उनी निकट नेता तथा कार्यकर्ता भने दुवै पक्षका अधिवेशन प्रक्रियामा आ–आफ्नो अनुकूलताअनुसार सहभागी भइरहेका छन्।
यसले कांग्रेसभित्र दुई समानान्तर महाधिवेशनको तयारीसँगै कोइराला पक्षको भूमिका पनि स्पष्टभन्दा बढी स्वतन्त्र र विकेन्द्रित देखिएको छ।









Facebook Comments