काठमाडौं — प्रतिनिधिसभाको बुधबार बसेको बैठकले चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई सम्बन्धित समितिमा पठाउन प्रस्ताव गरेकी थिइन्। बैठकले उक्त प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको हो।

ad

त्यस्तै, मन्त्री गौतमले नै नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ र निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। दुवै प्रस्ताव पनि बैठकबाट सर्वसम्मतिले स्वीकृत भएका छन्।

यसैगरी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रियसभाबाट उत्पत्ति भएको सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गरेकी थिइन्। उक्त प्रस्ताव पनि प्रतिनिधिसभाले सर्वसम्मतिले स्वीकृत गरेको छ।

चारवटै विधेयक अब सम्बन्धित संसदीय समितिमा दफावार छलफलपछि थप प्रक्रियाका लागि अघि बढ्नेछन्।