काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाएको छ। अभियानका प्रवक्ता विर्जन विश्वकर्माले सरकारसँग सहकार्य गरेर अघि बढ्न आफूहरू तयार भए पनि त्यसका लागि आवश्यक वातावरण बन्न नसकेको बताएका छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा बोल्दै विश्वकर्माले रास्वपा नेतृत्वको सरकारबाट जनताले ठूलो अपेक्षा राखेको भए पनि पछिल्लो समय निराशा बढ्दै गएको बताए।

ad

उनले आफूहरू सरकारसँग पाँच वर्षसम्म सहकार्य गरेर काम गर्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि सरकारले वातावरण बनाउनुपर्ने धारणा राखे।

यसैबीच, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले शनिबार मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे पनि विश्वकर्माले प्रश्न उठाए। जबरालाई जेनजीबाट खतरा रहेको भनिएकोप्रति आपत्ति जनाउँदै उनले खतरा कसबाट थियो भन्ने स्पष्ट पार्न माग गरे।

‘चोलेन्द्रलाई थ्रेट ३८ वर्षको जेनजी सुधन र ३५ वर्षको बालेन जेनजीबाट थियो भनिएको छ,’ उनले भने, ‘साँच्चै जेनजीबाट थ्रेट हो भने त्यो कोबाट हो? सार्वजनिक गर्नुपर्‍यो।’

जबरालाई नियन्त्रणमा लिनुपर्ने अवस्था किन आयो भन्ने विषयमा सरकारले तथ्यसहित जानकारी दिनुपर्ने विश्वकर्माको भनाइ थियो। उनले सरकार र जेनजीबीच सहकार्यका लागि संवादको वातावरण आवश्यक रहेकोमा जोड दिए।