
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनका लागि प्रस्तावित छुट्टै कार्यतालिका निर्वाचन आयोगमा दर्ता गराएको छ।
देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार आयोगमा बुझाइएको नेता एनपी साउदले जानकारी दिए। पत्रमा वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मका विभिन्न चरणका मिति तथा महाधिवेशनसँग जोडिएका कानुनी र प्रक्रियागत विषय उल्लेख गरिएको छ।
देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि र पार्टी विधानमा रहेको व्यवस्थालाई आधार बनाएर आफ्नो पक्षले महाधिवेशन गर्न लागेको जनाएको छ।
देउवा समूहले तयार पारेको कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशनबाट महाधिवेशन प्रक्रिया सुरु हुनेछ। त्यसपछि असोज २० गते गाउँपालिका तथा नगरपालिका अधिवेशन गर्ने प्रस्ताव गरिएको छ।
त्यसैगरी असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन र कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका छ। मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गरी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव छ। ‘हामी अधिवेशन गर्दैछौँ भनेर पत्र निर्वाचन आयोगमा दर्ता गरेका छौँ,’ साउदले भने, ‘पत्रमा महाधिवेशनको तिथिमितिसहितका विवरण खुलाएका छौँ।’
देउवा पक्षले कांग्रेसको आधिकारिकता र महाधिवेशनसँग सम्बन्धित विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको विषय पनि आयोगलाई जानकारी गराएको जनाएको छ। आयोगमा पठाइएको पत्रमा उक्त विवादमा सर्वोच्च अदालतले पुनरवलोकनका लागि अनुमति दिएको विषयसमेत उल्लेख गरिएको देउवा पक्षको भनाइ छ।
आफ्नो पक्षबाट महाधिवेशन सम्पन्न भएपछि निर्वाचित हुने नयाँ केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा पठाई पार्टीको अभिलेख अद्यावधिक गराउने जानकारीसमेत पत्रमार्फत गराइएको छ। देउवा पक्षले आयोगमा छुट्टै कार्यतालिका दर्ता गरेसँगै कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर दुईवटा प्रक्रिया अघि बढेका छन्।
गगन थापा नेतृत्वको पक्षले यसअघि असोज १८ गतेदेखि काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। त्यसको तीन दिनअघि, अर्थात् असोज १५ गतेदेखि आफ्नो महाधिवेशन प्रक्रिया सुरु गर्ने देउवा पक्षको तयारी छ।
पार्टीको आधिकारिकता, नेतृत्व र महाधिवेशनको वैधानिकतालाई लिएर कांग्रेसभित्र देखिएको विवादबीच दुवै पक्षले छुट्टाछुट्टै कार्यतालिका अघि सारेका हुन्। यसले १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद थप संस्थागत हुने अवस्था देखिएको छ।









Facebook Comments