
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। करिब आठ दशकको इतिहास बोकेको कांग्रेसले यसपटक नयाँ नेतृत्व चयनसँगै पार्टीको नीति, संगठन र आगामी राजनीतिक दिशाबारे पनि छलफल गर्दै छ।
महाधिवेशनका लागि देश तथा विदेशबाट निर्वाचित करिब ७ हजार प्रतिनिधि काठमाडौं आउनेछन्। उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे हुने कांग्रेसले जनाएको छ। त्यसपछि असोज १९ र २० गते राजनीतिक, सांगठनिक तथा नीतिगत दस्तावेजमाथि बन्दसत्रमा छलफल हुनेछ भने असोज २१ र २२ गते नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन र मतगणना गर्ने कार्यतालिका छ।
कांग्रेसले महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन प्रक्रिया वडाबाटै सुरु गरेको हो। असोज ३ र ४ गते देशभरका ६ हजार ७४३ वडामा अधिवेशन सम्पन्न गरी करिब २ लाख ९६ हजार स्थानीय पदाधिकारी चयन गरिएको थियो।
त्यसपछि असोज ६ देखि ८ गतेसम्म गाउँपालिका तथा नगरपालिका अधिवेशन, असोज १० र ११ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा असोज १२ र १३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरिएको थियो। जिल्ला तथा प्रदेश अधिवेशन असोज १४ र १५ गतेका लागि तोकिएको थियो।
तर असोज ८ गतेदेखि परेको लगातार वर्षाका कारण केही स्थानको अधिवेशन प्रभावित भएपछि निर्वाचन प्रक्रिया निर्धारित समयभन्दा केही पछाडि धकेलिएको छ। यही कारण कांग्रेसले यसअघि असोज १६ गतेदेखि गर्ने भनिएको महाधिवेशन दुई दिन पछि सारेर असोज १८ गतेदेखि गर्ने निर्णय गरेको हो।
१५औँ महाधिवेशनमा १४औँ महाधिवेशनको तुलनामा प्रतिनिधिको संख्या बढेको छ। अघिल्लो महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि सहभागी थिए।
यसपटक प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३३ जनाका दरले ५ हजार ४४५ प्रतिनिधि प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट चयन हुनेछन्। ३५ वर्षमुनिका युवाको सहभागिता सुनिश्चित गर्न प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा तीन जना युवा प्रतिनिधि चयन गर्ने व्यवस्था गरिएको छ, जसमा कम्तीमा एक महिला हुनुपर्नेछ। यसरी ४९५ युवा प्रतिनिधिको सहभागिता सुनिश्चित गरिएको छ।
त्यसैगरी खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्रलाई समेटेर आठ सामाजिक क्लस्टरबाट समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको छ।
यसपटक कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि महत्वपूर्ण परिवर्तन गरिएको छ। संशोधित विधानअनुसार केन्द्रीय पदाधिकारी तथा सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्ने पुरानो व्यवस्था हटाइएको छ।
यसको अर्थ पार्टीका शीर्ष नेतासमेत आफ्नो वडा तहबाट निर्वाचन प्रक्रियामा सहभागी हुनुपर्ने व्यवस्था लागू भएको हो। सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेललगायत नेताहरू पनि वडा तहबाट क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधि बनेर आएका छन्।
१५औँ महाधिवेशनले २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ। नयाँ संरचनामा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री तथा केन्द्रीय सदस्य रहनेछन्।
यसअघि कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय थियो। नयाँ संरचनासँगै केन्द्रीय समितिको आकारसमेत बढेको छ।
२०७८ मंसिरमा सम्पन्न १४औँ महाधिवेशनपछि विधानअनुसार चार वर्षभित्र नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने थियो। तर क्रियाशील सदस्यता नवीकरण तथा वितरणमा भएको ढिलाइ, २०८२ भदौको ‘जेन–जी’ आन्दोलन र पार्टी नेतृत्वबीचको विवादका कारण निर्धारित समयमा महाधिवेशन हुन सकेन।
त्यसबीच नियमित र विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र विवाद देखिएको थियो। तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा गत पुसको अन्तिम साता काठमाडौंमा विशेष महाधिवेशन आयोजना भयो। उक्त महाधिवेशनले थापालाई सभापतिमा सर्वसम्मत चयन गरेको थियो।
पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूह भने उक्त विशेष महाधिवेशनमा सहभागी भएको थिएन। उक्त समूहले छुट्टै महाधिवेशन गर्ने बताउँदै आएको छ।
महाधिवेशन व्यवस्थापनका लागि कांग्रेसले विभिन्न विषयगत समिति गठन गरेर तयारी अघि बढाएको छ। सभापति गगन थापाको संयोजकत्वमा केन्द्रीय निर्देशन समिति गठन गरिएको छ भने आर्थिक, सूचना प्रविधि, आवास, स्वास्थ्य, स्वयंसेवक र मञ्च व्यवस्थापनलगायत १३ वटा विषयगत समितिलाई जिम्मेवारी दिइएको छ।
उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई अतिथिका रूपमा आमन्त्रण गरिएको कांग्रेसले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिलाई निम्तो दिइएको छ।
यसरी वडा तहबाट सुरु भएको निर्वाचन प्रक्रिया हुँदै करिब ७ हजार प्रतिनिधि काठमाडौंमा भेला भएर कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयन गर्नेछन्। महाधिवेशनले नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक तथा सांगठनिक दिशासमेत तय गर्नेछ।









Facebook Comments