काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले केही नेता महाधिवेशन प्रक्रियामा सहभागी नभएको आधारमा पार्टी विभाजन भएको निष्कर्ष निकाल्न नमिल्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राणाले कांग्रेस अहिले पनि एकताबद्ध रहेको दाबी गरे। केही नेता महाधिवेशन प्रक्रियाबाट अलग रहेर ‘चुनदेवीतिर’ गएको उल्लेख गर्दै उनले त्यसलाई पार्टी विभाजनका रूपमा बुझ्न नहुने बताए।

ad

‘केही नेता र कार्यकर्ता अधिवेशनमा सहभागी नभएको अवस्था हो, पार्टी फुटेको होइन,’ राणाले भने, ‘अहिले पार्टी एउटै छ। केही साथीहरू टाढा गएर चुनदेवीतिर जानुभएको छ, उहाँहरूले महाधिवेशनमा भाग लिनुभएको छैन।’

राणाले महाधिवेशनमा सहभागी हुन असन्तुष्ट नेताहरूले राखेका माग सम्बोधन भइसकेको दाबी गरे। उनका अनुसार शेखर कोइराला पक्षले राखेको सातबुँदे र पूर्णबहादुर खड्का पक्षले राखेको पाँचबुँदे माग कार्यान्वयन गरिएको छ।

सदस्यता अद्यावधिकदेखि पुराना केन्द्रीय सदस्यहरूको समायोजनसम्मका माग पूरा गरिएको उनको भनाइ छ। माग सम्बोधनपछि धेरै नेता महाधिवेशन प्रक्रियामा फर्किसकेको पनि उनले बताए।

महाधिवेशन प्रक्रियामा सहभागी हुन चाहने नेताहरूका लागि अझै अवसर रहेको र १५ गतेसम्म इच्छुकलाई महासमिति सदस्यमा मनोनयन गरी महाधिवेशन प्रतिनिधि बनाउन सकिने राणाले बताए।

राणाले पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटनमा सहभागी हुन आग्रह गरिएको बताए। ‘शेरबहादुर दाइ अधिवेशन उद्घाटन गर्न आउनुभयो भने उहाँले नै गर्नुहुन्छ,’ उनले भने, ‘त्यसभन्दा बढी हामीले के गर्न सक्छौं?’

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेकाले त्यस नेतृत्वलाई पद छाडेर पुनः पुरानै नेतृत्वलाई जिम्मेवारी दिन आग्रह गर्न नसकिने राणाको भनाइ थियो। उनले असन्तुष्ट पक्षका माग सम्बोधन भइसकेकाले अब महाधिवेशन प्रक्रियामा सहभागी हुने वा नहुने निर्णय सम्बन्धित नेताहरूले गर्नुपर्ने बताए।