
काठमाडौं । सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आभा श्रेष्ठ कर्ण र डा. जगदीश्वर कर्माचार्यलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रशासन सेवातर्फ बढुवा भएकी कर्णलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ।
त्यस्तै, नेपाल इन्जिनियरिङ सेवा समूहिकरणतर्फ सचिवमा बढुवा भएका डा. जगदीश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सचिवका रूपमा पदस्थापन गर्ने निर्णय भएको छ।
सचिव बढुवाका लागि प्रशासन सेवातर्फ आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यको नाम बढुवा सिफारिस समितिले सरकारसमक्ष पठाएको थियो।
त्यसैगरी प्राविधिक सेवातर्फ डा. जगदीश्वर कर्माचार्य, नवीनराज सिंह र मीना श्रेष्ठ सचिवका लागि सिफारिस भएका थिए। सिफारिसमा परेका उम्मेदवारमध्ये वरिष्ठताको आधारमा कर्ण र कर्माचार्य सचिवमा बढुवा भएको बताइएको छ।
बढुवा हुनुअघि कर्ण महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत कार्यरत थिइन् भने कर्माचार्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत थिए।









Facebook Comments