
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति, अनुशासन र निर्णयविपरीत हुने गतिविधिप्रति कडाइ गर्ने बताएका छन्।
तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकका निर्णयबारे मंगलबार विभिन्न प्रदेशका पदाधिकारीलाई भर्चुअल माध्यमबाट जानकारी गराउँदै ओलीले पार्टीभित्र अराजकता र अनुशासनहीनतालाई स्थान नदिइने बताएका हुन्।
कोशी, मधेस, बागमती, उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशका पदाधिकारीलाई सम्बोधन गर्दै उनले पार्टीको नीति र अनुशासन उल्लंघन गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याइने चेतावनी दिए।
पार्टीलाई कमजोर पार्ने तथा विपक्षीलाई राजनीतिक लाभ पुग्ने गरी अभिव्यक्ति वा गतिविधि नगर्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
एमालेको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठक असोज ५ देखि ८ गतेसम्म ललितपुरमा बसेको थियो। बैठकका निर्णय कार्यान्वयन तथा संगठनात्मक गतिविधिबारे प्रदेश तहका नेताहरूसँग ओलीले छलफल गरेका हुन्।
ओलीले आगामी दिनमा पार्टीको प्राथमिकता लोकतन्त्रको रक्षा र स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने बताए।
निर्धारित राजनीतिक लक्ष्य हासिल गर्न संगठनलाई योजनाबद्ध रूपमा परिचालन गर्नुपर्ने उल्लेख गर्दै उनले नेताकार्यकर्तालाई ‘अर्जुनदृष्टि’का साथ अघि बढ्न आग्रह गरे।
उनले जिल्ला तथा कार्यक्षेत्रको जिम्मेवारीमा रहेका नेताहरूलाई राजधानीमै सीमित नभई आफ्नो जिम्मेवारीको क्षेत्रमा पुगेर संगठन निर्माण र निर्वाचन तयारीका योजना बनाउन निर्देशनसमेत दिए।
अध्यक्ष ओलीले तत्काल अन्य कुनै राजनीतिक दलसँग एमालेको एकता नहुने स्पष्ट पारे। यद्यपि, परिस्थितिअनुसार चुनावी तालमेल वा निश्चित विषयमा कार्यगत सहकार्य हुनसक्ने उनको भनाइ थियो।
उनले पार्टीको संगठन र गतिविधिलाई प्रभावकारी बनाउन सम्बन्धित नेताहरूले आफ्नो कार्यक्षेत्रमै सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिए।
भर्चुअल सम्बोधनमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल र रघुजी पन्त तथा महासचिव शङ्कर पोखरेललगायत नेताहरू सहभागी थिए।









Facebook Comments