काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णयबारे जानकारी दिएका हुन्।

बैठकले प्रशासन र इन्जिनियरिङ सेवातर्फ राजपत्रांकित विशिष्ट श्रेणीका दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णयसमेत गरेको छ।

ad

नेपाल प्रशासन सेवातर्फ सहसचिव आवास श्रेष्ठ कर्णलाई सचिवमा बढुवा गरी गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ।

यसअघि बढुवा समितिले कर्णसहित चक्रबहादुर बुढा र जयनारायण आचार्यको नाम सिफारिस गरेको थियो। कर्ण मधेश प्रदेशमा कार्यरत थिइन् भने बुढा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत थिए।

त्यस्तै, नेपाल इन्जिनियरिङ सेवातर्फ डा. जगदीश्वर कर्मचार्यलाई विशिष्ट श्रेणीको सचिवमा बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए।

मन्त्रिपरिषद्ले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

सरकारका अनुसार उक्त अनुदान स्वास्थ्य सेवा सुधारसँग सम्बन्धित कार्यक्रमका लागि प्रयोग हुनेछ।बैठकले विभिन्न विकास आयोजना तथा सुरक्षा संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न पनि अनुमति दिएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केश्वर–पथलैया सडकखण्ड, गर्जनखोला साना जलविद्युत् आयोजना र बलेफीखोला जलविद्युत् आयोजनाका लागि वन क्षेत्र उपयोग गर्न स्वीकृति दिइएको हो।

त्यस्तै, सशस्त्र प्रहरी बल, नेपालका तालिम शिक्षालय गुल्म तथा सीमा सुरक्षा पोस्ट निर्माणका लागि समेत राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिने निर्णय भएको छ।

मन्त्रिपरिषद्ले तीनवटा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ। पशु, बधशाला तथा मासु जाँच ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेश गर्न स्वीकृति दिइएको छ।

त्यसैगरी संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक पनि संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले गिरफ्तार नगरेको दाबी गरे। उनका अनुसार सुरक्षा जोखिमका कारण राणालाई प्रहरी कार्यालयमा लगिएको हो।

राणामाथि ‘जेनजी समूह’बाट खतरा रहेको भन्ने चर्चा सही नभएको भन्दै पोखरेलले अज्ञात समूहबाट सुरक्षा चुनौती देखिएपछि उनलाई सुरक्षा प्रदान गरिएको बताए। उनले राणालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको नभई सुरक्षा प्रयोजनका लागि प्रहरी कार्यालयमा राखिएको स्पष्ट पारे।