परासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोदकुमार चौधरी नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट पार्टीको १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।

चौधरी मधेसी क्लस्टरतर्फबाट महाधिवेशन प्रतिनिधि बनेका हुन्। सोही क्लस्टरबाट प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव पनि सर्वसम्मत चयन भएका छन्।

ad

नवलपरासी–१ बाट ३४ जना महाधिवेशन प्रतिनिधि चयन हुने भए पनि विभिन्न क्लस्टरमा गरी ७५ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये हालसम्म आठजना प्रतिनिधि सर्वसम्मत चयन भइसकेका छन्।

सर्वसम्मत हुन नसकेका पदमा सोमबार मतदान भएको छ। निर्वाचन अधिकृत अधिवक्ता प्रकाश न्यौपानेका अनुसार मतगणना सोमबार राति अबेरसम्म सकिने सम्भावना छ।

चौधरी नवलपरासी–१ बाट यसअघि दुईपटक प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका थिए। २०७९ सालको निर्वाचनमा उनी निर्वाचित भएका थिए भने पछिल्लो निर्वाचनमा भने पराजित भएका थिए।

नवलपरासीमा कांग्रेसका दुई निर्वाचन क्षेत्र छन्। क्षेत्र नम्बर २ मा भने मंगलबार उम्मेदवारी मनोनयन र बुधबार मतदान हुने कार्यतालिका छ।

क्षेत्र नम्बर २ मा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल र लुम्बिनी प्रदेश सदस्य तथा गत प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार भीमबहादुर थापा ‘भरत’ पक्षले प्यानलसहित उम्मेदवारी दिने तयारी गरेका छन्। दुवै पक्षले विभिन्न पदका उम्मेदवार टुंगो लगाइसकेको बताइएको छ।