काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी अघि बढाउँदै उम्मेदवारी शुल्क सार्वजनिक गरेको छ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा गठित १५औँ महाधिवेशन तयारी समितिअन्तर्गतको केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्वाचन निर्देशिकामा वडा तहदेखि केन्द्रीय तहसम्मका विभिन्न पदका लागि उम्मेदवारी शुल्क तोकिएको हो।

ad

निर्देशिकाअनुसार केन्द्रीय सभापति पदमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ।

प्रदेश सभापतिका लागि १० हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ। प्रदेशका उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ६ हजार तथा सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ।

यसअघि संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा केन्द्रीय सभापतिको उम्मेदवारी शुल्क ४० हजार रुपैयाँ तोकेको थियो। उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको थियो।

देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। महाधिवेशन तयारीका लागि विभिन्न जिल्लामा संयोजक र केन्द्रीय प्रतिनिधिसमेत परिचालन गरिएको छ।

निर्वाचन निर्देशिकाअनुसार उम्मेदवारी दर्ता गर्दा उम्मेदवारको विवरणसँगै प्रस्तावक र समर्थकको विवरण, क्रियाशील सदस्यता नम्बर तथा शुल्क बुझाएको रसिद पेस गर्नुपर्नेछ। केन्द्रीय सभापतिका उम्मेदवारका लागि सात जना प्रस्तावक र सात जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।

कांग्रेसमा महाधिवेशन र पार्टीको आधिकारिकतासम्बन्धी विवाद भने कायमै छ। देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधार मानेर छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ भने अर्को पक्षले आफ्नै कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाइरहेको छ।