
काठमाडौं । नेपाली कांग्रेसले असोज १६ गतेदेखि सुरु गर्ने तय गरेको १५औँ महाधिवेशन केही दिन पछाडि सार्ने तयारी गरेको छ। देशका विभिन्न क्षेत्रमा भइरहेको वर्षा, बाढी र पहिरोका कारण महाधिवेशनका लागि आवश्यक तयारी तथा जिल्ला र क्षेत्रीय अधिवेशन प्रभावित भएपछि मिति सार्नेबारे छलफल भइरहेको हो।
कांग्रेसका एक पदाधिकारीका अनुसार महाधिवेशन तीन दिनदेखि एक सातासम्म पछाडि सार्ने विकल्पमा छलफल भइरहेको छ। मौसम प्रतिकूल रहेकाले विभिन्न जिल्लाबाट काठमाडौं आउने प्रतिनिधिलाई समेत समस्या हुने देखिएपछि यस्तो तयारी गरिएको हो।
महाधिवेशनको मिति परिवर्तनबारे मंगलबार पार्टी कार्यालयमा छलफल गरी निर्णय लिने तयारी छ।
कांग्रेसले यसअघि असोज १६ देखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। मिति सार्ने तयारीसँगै काठमाडौं महानगरको सभाहल असोज १९ गतेका लागि बुक गरिएको बताइएको छ।









Facebook Comments