
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हालैको बाढीपहिरोका कारण देशको विद्युत् प्रणालीमा करिब १ हजार मेगावाट विद्युत् उत्पादन प्रभावित भएको बताएका छन्।
सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले बाढीपहिरोले विद्युत् उत्पादनसँगै प्रसारण र वितरणतर्फका संरचनामा समेत क्षति पुर्याउँदा राष्ट्रिय प्रणालीमा ठूलो असर परेको जानकारी दिए।
उनका अनुसार वर्षाका कारण कालीगण्डकी कोरिडोर प्रसारण लाइन अवरुद्ध हुँदा मात्रै १३ वटा जलविद्युत् आयोजनाबाट उत्पादन हुने करिब ३७० मेगावाट विद्युत् प्रभावित भएको छ।
मन्त्री श्रेष्ठले उत्पादन क्षमता भए पनि पर्याप्त प्रसारण पूर्वाधारको अभावमा विद्युत् प्रवाहमा समस्या देखिएको बताए। बाढीपहिरोका कारण क्षतिग्रस्त संरचनाको प्रभावले विद्युत् प्रणाली व्यवस्थापन थप चुनौतीपूर्ण बनेको उनको भनाइ छ।
हेटौंडा–ढल्केबर प्रसारण लाइन चार्ज भएपछि भने पूर्व र पश्चिमबीच विद्युत् आदानप्रदान सहज हुने मन्त्री श्रेष्ठले बताए। उक्त प्रसारण संरचनाले पूर्वमा उत्पादित विद्युत् पश्चिमतर्फ र पश्चिमको विद्युत् पूर्वतर्फ पठाउन सहज बनाउने उनको भनाइ छ।
उनका अनुसार हाल विद्युत् प्रणालीलाई सन्तुलित राख्न आन्तरिक उत्पादनलाई प्राथमिकतामा राखिएको छ। स्वदेशी उत्पादनले नपुग्ने विद्युत् भारतबाट आयात गरेर आपूर्ति व्यवस्थापन भइरहेको मन्त्री श्रेष्ठले जानकारी दिए।








Facebook Comments