काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले व्यक्तिगत प्रतिशोधका लागि राज्यसत्ताको दुरुपयोग गर्न नहुने बताएका छन्।

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले पूर्वप्रधानन्यायाधीशको पक्राउ तथा दुर्गा प्रसाईंलाई पटक–पटक पक्राउ गरिएको विषयमा प्रश्न उठाएका हुन्।

ad

शाहीले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको सट्टा सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईलाई पक्राउ गर्न सके जनताको ठूलो रकम फिर्ता हुने दाबी गरे। उनका अनुसार राईलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउन सके जनताको करिब ९ अर्ब रुपैयाँ फिर्ता हुने अवस्था बन्न सक्थ्यो।

सरकारले व्यक्तिगत इगो र प्रतिशोधका आधारमा राज्य संयन्त्र प्रयोग गर्न थाले विगतको केपी शर्मा ओली नेतृत्वको सरकार र वर्तमान सरकारबीच कुनै भिन्नता नरहने उनको भनाइ थियो।

शाहीले भ्रष्टाचार तथा अपराधमा संलग्न व्यक्तिमाथि प्रमाण र कागजातका आधारमा कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरे। सुशासनका लागि सरकारले अघि बढाउने कदममा आफ्नो पार्टीको साथ रहने तर व्यक्तिगत इगो साँध्न राज्यसत्ताको प्रयोग गर्न नहुने उनले बताए।