काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले आफ्ना सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। आइतबार आयोजित कार्यक्रममा स्वकीय सचिवको जिम्मेवारी, संसदीय अभ्यास र सांसदसँगको समन्वयलगायत विषयमा छलफल गरिएको हो।

संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउन सांसदको सदनमा उपस्थिति मात्रै पर्याप्त नहुने र त्यसका लागि सही सूचना, प्रभावकारी समन्वय, जिम्मेवार टोली तथा स्पष्ट कार्यप्रणाली आवश्यक पर्ने रास्वपाले जनाएको छ। सोही आवश्यकतालाई ध्यानमा राखेर स्वकीय सचिवहरूको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

ad

कार्यक्रममा रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले पार्टीको विचार, अनुशासन तथा स्वकीय सचिवको जिम्मेवारी र कर्तव्यबारे धारणा राखे। उनले सांसदको संसदीय भूमिकालाई प्रभावकारी बनाउन स्वकीय सचिवको काम महत्त्वपूर्ण रहेको बताए।

त्यस्तै, सचेतक प्रकाशचन्द्र परियारले स्वकीय सचिवको भूमिका र संसदीय अभ्यासमा त्यसको महत्त्वबारे जानकारी गराए। सांसदका कामलाई व्यवस्थित र प्रभावकारी बनाउन स्वकीय सचिवले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि उनले चर्चा गरे।

कार्यक्रममा सचेतक क्रान्तिशिखाले स्वकीय सचिवहरूले राखेका जिज्ञासा र प्रश्नमाथि छलफल गरेकी थिइन्। सहभागीहरूले कार्यसम्पादनका क्रममा सामना गर्नुपर्ने व्यावहारिक चुनौतीबारे समेत जानकारी गराएका थिए।

रास्वपा संसदीय दलले अभिमुखीकरणबाट सांसद र स्वकीय सचिवबीचको समन्वय थप व्यवस्थित हुने तथा संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।