काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते गर्ने तयारी अघि बढाएको छ।

शनिबार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले निर्धारित मितिमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको जानकारी दिए।

ad

महतका अनुसार महाधिवेशनको प्रारम्भिक प्रक्रिया असोज १५ गतेदेखि वडा अधिवेशनबाट सुरु गर्ने तयारी छ। त्यसपछि पार्टीको आन्तरिक निर्वाचन प्रक्रिया क्रमशः माथिल्ला तहमा अघि बढाइनेछ।

पत्रकार सम्मेलनमा महतले पार्टीभित्र एकताको महाधिवेशन गर्ने प्रयास गरिए पनि त्यसका लागि गरिएका पहल निष्कर्षमा पुग्न नसकेको बताए। सबै पक्षसँग सहमतिको प्रयास गरिए पनि सम्भव नभएपछि छोटो समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो।

“एकताको महाधिवेशनका लागि प्रयास गरेका थियौँ। त्यसका लागि सबै ढोका खुला राखेर प्रयास गर्दा पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको छ,” महतले भने।

संस्थापन इतर पक्षले महाधिवेशनको मिति तय गर्दै वडा तहबाटै संगठनात्मक निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेको हो। कांग्रेसभित्र लामो समयदेखि महाधिवेशनको मिति, निर्वाचन कार्यतालिका तथा नेतृत्व चयनका विषयमा छलफल हुँदै आएको छ।

मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारीसँगै अब त्यसअघि सम्पन्न गर्नुपर्ने वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा प्रदेश तहका अधिवेशनको कार्यतालिकालाई समेत छोट्याएर अघि बढाउनुपर्ने देखिएको छ।

संस्थापन इतर पक्षले भने महाधिवेशनलाई छिटो सम्पन्न गर्ने गरी संगठनात्मक गतिविधि अघि बढाउने जनाएको छ। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुने भएकाले आगामी दिनमा कांग्रेसभित्र नेतृत्व र महाधिवेशन प्रतिनिधि चयनलाई लिएर आन्तरिक प्रतिस्पर्धा थप तीव्र हुने देखिएको छ।