
डडेल्धुरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको उम्मेदवारका रूपमा अघि बढाउने निर्णय डडेल्धुरा कांग्रेसले सर्वसम्मत रूपमा गरेको छ।
डडेल्धुरामा सम्पन्न अधिवेशनले महरलाई महामन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै देश तथा विदेशबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिसँग समर्थनका लागि अपिलसमेत गरेको छ।
अधिवेशनबाट पारित अपिलमा महरलाई विगतको अनुभवलाई सम्मान गर्दै पार्टीको आगामी जिम्मेवारी सम्हाल्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ। कांग्रेसलाई व्यक्ति वा गुटकेन्द्रित नभई संस्थागत रूपमा अघि बढाउनुपर्ने र बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिअनुसार पार्टीको सोच, कार्यशैली र राजनीतिक संस्कारमा परिवर्तन आवश्यक रहेको उल्लेख गरिएको छ।
महरले अघि सारेको कांग्रेसलाई ‘इभेन्ट ड्रिभन’ भन्दा ‘नलेज ड्रिभन र नेसन सेन्ट्रिक’ पार्टी बनाउने अवधारणालाई डडेल्धुरा कांग्रेसले आफ्नो निर्णयको महत्वपूर्ण आधार बनाएको छ। संगठन, नीति र कार्यान्वयनबीचको दूरी कम गर्दै कांग्रेसलाई केवल शक्ति केन्द्रका रूपमा नभई कार्यसम्पादनमा केन्द्रित संस्थाका रूपमा विकास गर्नुपर्ने धारणा पनि अपिलमा समेटिएको छ।
डडेल्धुरा कांग्रेसले महरको उम्मेदवारीलाई कुनै व्यक्ति वा समूह विशेषको समर्थनका रूपमा मात्र नहेरी पार्टीको संगठनात्मक रूपान्तरणसँग जोडेको छ। ज्ञानमा आधारित राजनीति, पारदर्शिता, जवाफदेहिता, पुस्तान्तरण र राष्ट्रिय हितलाई केन्द्रमा राख्ने राजनीतिक संस्कार निर्माण महरको नेतृत्व अवधारणाका आधार भएको निर्णयमा उल्लेख छ।
अधिवेशनबाट पारित निर्णयमा भनिएको छ, “नैनसिंह महरको उम्मेदवारी कुनै व्यक्ति वा समूहको पक्षमा मात्र होइन, कांग्रेसको संगठनात्मक रूपान्तरण, ज्ञानमा आधारित राजनीति, पारदर्शिता, जवाफदेहिता, पुस्तान्तरण र राष्ट्रिय हितकेन्द्रित राजनीतिक संस्कार निर्माणको प्रस्ताव हो।”
महरलाई महामन्त्रीमा अघि बढाउने निर्णयसँगै डडेल्धुरा कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने देश तथा विदेशका सम्पूर्ण महाधिवेशन प्रतिनिधिसँग उनको पक्षमा उभिन आग्रह गरेको छ।
‘इतिहास हाम्रो सम्पत्ति हो, भविष्य हाम्रो जिम्मेवारी हो’ भन्ने सन्देशसहित पारित अपिलमा कांग्रेसलाई समयानुकूल रूपान्तरण गर्दै थप संस्थागत, जवाफदेही र राष्ट्रिय आवश्यकतासँग जोडिएको पार्टी बनाउनुपर्नेमा जोड दिइएको छ।
डडेल्धुराबाट सर्वसम्मत रूपमा पारित यो निर्णयले महरको महामन्त्री उम्मेदवारीलाई जिल्लाको समर्थनबाट राष्ट्रिय महाधिवेशनको बहसमा लैजाने आधार तयार गरेको कांग्रेस नेताहरूले बताएका छन्।









Facebook Comments