काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जिल्लास्तरको अधिवेशन प्रक्रिया तीव्र बनेको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने तयारी भइरहेका बेला प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सुरु भएको हो।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मनाङ, मुस्ताङ र बैतडीमा प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ। असोज १० देखि १३ गतेसम्म सञ्चालन हुने क्षेत्रीय अधिवेशनअन्तर्गत ती जिल्लामा निर्वाचन प्रक्रिया पूरा भएको हो।

ad

केन्द्रीय निर्वाचन समितिले असोज १० गते जारी गरेको विज्ञप्तिमा कांग्रेसको वडा अधिवेशनहरू सम्पन्न भइसकेको र गाउँ तथा नगर अधिवेशनहरू पनि क्रमशः सम्पन्न भइरहेको जनाएको छ।

यसै क्रममा सङ्खुवासभा, धनकुटा, उदयपुर, चितवन, ललितपुर, कपिलवस्तु, रुकुम पूर्व, रोल्पा, रुकुम पश्चिम, जुम्ला, डोटी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरमा क्षेत्रीय अधिवेशनको उद्घाटन सत्र सुरु भइसकेको छ। ती जिल्लामा अहिले निर्वाचन प्रक्रिया अघि बढिरहेको केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जानकारी दिए।

कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार वडा तहबाट सुरु भएको संगठनात्मक निर्वाचन प्रक्रिया क्रमशः गाउँ–नगर, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै महाधिवेशनतर्फ अघि बढिरहेको छ।

क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय नेतृत्व चयन हुने भएकाले कांग्रेसको आगामी नेतृत्व निर्माणका लागि यो चरणलाई महत्वपूर्ण मानिएको छ। बाँकी जिल्लामा पनि तोकिएको कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ।

असोज १६ देखि १९ गतेसम्म हुने १५औँ महाधिवेशनका लागि अधिवेशनपूर्वका निर्वाचन प्रक्रिया समयमै सम्पन्न गर्ने चुनौती कांग्रेससामु छ। निर्वाचन समितिले जिल्लागत रूपमा अधिवेशनको प्रगति र निर्वाचन प्रक्रिया अघि बढाइरहेको जनाएको छ।