काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन्। १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका शाह कतारको दोहा हुँदै काठमाडौं आइपुगेका हुन्।

प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र पर्यटनमन्त्री गनेश पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

ad

प्रधानमन्त्री शाह गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले नेपाली समयअनुसार असोज ९ गते संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए।

त्यसपछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालका तर्फबाट सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले नेपालका प्राथमिकता तथा अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्धित विषय प्रस्तुत गरेका थिए।

न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले विभिन्न उच्चस्तरीय भेटवार्ता तथा कार्यक्रममा समेत सहभागिता जनाएका थिए। उनले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससँगै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री शाह न्युयोर्कस्थित नेपाली स्थायी नियोगले आयोजना गरेका विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत कार्यक्रममा सहभागी भएका थिए।

स्वदेश फर्कने क्रममा न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत नेपाली अधिकारीले प्रधानमन्त्री शाहलाई बिदाइ गरेका थिए।

प्रधानमन्त्री शाह शुक्रबार साँझ न्युयोर्कबाट कतार एयरलाइन्सको विमानमार्फत दोहा हुँदै काठमाडौंका लागि प्रस्थान गरेका थिए। शनिबार अपराह्न उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

महासभामा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीको यो भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघीय नेतृत्व तथा विभिन्न मुलुकका उच्च अधिकारीसँग भेटवार्ता र द्विपक्षीय विषयमा छलफलसमेत भएको जनाइएको छ।