
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा असोज २२ र २३ गते हुने सम्मेलनमा संघीयता कार्यान्वयनदेखि प्रदेश सरकारबीचको समन्वय र आर्थिक विकाससम्मका विषयमा छलफल गरिने भएको हो।
मुख्यमन्त्रीको कार्यालयका अनुसार सम्मेलनमा संघीयता कार्यान्वयनका क्रममा देखिएका समस्या, त्यसका समाधानका उपाय तथा संघीय शासन व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ। प्रदेश सरकार गठन र सञ्चालनका क्रममा भएका असल अभ्यास तथा अनुभव आदानप्रदानलाई पनि सम्मेलनले प्राथमिकता दिनेछ।
त्यस्तै, प्रदेशस्तरीय तथा तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य कसरी प्रभावकारी बनाउने, सुशासन कायम गर्ने तथा आर्थिक समृद्धिका लागि प्रदेशको भूमिका थप बलियो बनाउने विषयमा समेत छलफल केन्द्रित हुने जनाइएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले सम्मेलनलाई व्यवस्थित बनाउन आवश्यक तयारी सुरु भइसकेको जानकारी दिए। उनका अनुसार सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहनेछ।
मुख्यमन्त्री कार्कीका आर्थिक सल्लाहकार मोहन सुवेदीले सम्मेलनलाई प्रदेशबीचको सम्बन्ध र सहकार्य सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। सडक तथा पुल निर्माण, उद्योग र पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधिलाई थप गतिशील बनाउने विषयमा साझा अनुभव र धारणा आदानप्रदानले प्रदेशहरूलाई लाभ पुग्ने उनको भनाइ छ।
सम्मेलनमा मुख्यमन्त्रीसँगै प्रदेशका मन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता तथा उच्च सरकारी अधिकारीहरूको समेत सहभागिता रहने कोशी प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद भट्टले जानकारी दिए।
भट्टका अनुसार संघीयता कार्यान्वयनका व्यावहारिक चुनौतीसँगै राजनीतिक, आर्थिक, सामाजिक, विकास निर्माण तथा कानुनी विषयमा समेत छलफल हुनेछ। प्रदेश सरकार सञ्चालनका क्रममा देखिएका समस्या पहिचान गरी तीन तहका सरकारबीच सहकार्यको स्पष्ट आधार तय गर्न सम्मेलन उपयोगी हुने उनको भनाइ छ।
सातै प्रदेशका सरकार प्रमुख एकै ठाउँमा भेला हुने भएकाले सम्मेलनमा प्रदेशका साझा समस्या, अधिकार क्षेत्र, स्रोत व्यवस्थापन र विकासका प्राथमिकताबारे समेत अनुभव आदानप्रदान हुने अपेक्षा गरिएको छ। सम्मेलनबाट संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा साझा धारणा निर्माण गर्ने प्रयास हुने आयोजकले जनाएको छ।









Facebook Comments