काठमाडौं ।नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आसन्न महाधिवेशनलाई पार्टीको नियमित सांगठनिक गतिविधिमा सीमित नराखी लोकतन्त्र र मुलुकको भावी दिशासमेत तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीले पार्टीभित्र एकता, सौहार्दता र सर्वसम्मति कायम गर्न आफू निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै पूर्ण सहमति सम्भव नभए लोकतान्त्रिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा स्वीकार गर्नुपर्ने धारणा राखेका छन्।

ad

असोज १६ गतेदेखि हुने महाधिवेशनले बदलिँदो सामाजिक तथा राजनीतिक परिस्थितिअनुसार कांग्रेसलाई नयाँ दिशा दिनुपर्ने उनको भनाइ छ। उनका अनुसार वर्तमान चुनौतीलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै संगठन सुदृढीकरण र पुस्तान्तरणबीच सन्तुलन कायम गर्नु महाधिवेशनको महत्वपूर्ण जिम्मेवारी हो।

केसीले कांग्रेसलाई नेपालको राजनीतिक इतिहासका विभिन्न चरणमा निरन्तरता र नवीनताको संयोजन गर्दै आएको लोकतान्त्रिक अभियानका रूपमा व्याख्या गरेका छन्। उनले अग्रज पुस्ताको अनुभव, त्याग र मार्गदर्शनलाई नयाँ पुस्ताको ऊर्जा, साहस, सिर्जनशीलता र उत्साहसँग जोड्नुपर्ने बताएका छन्।

पार्टीभित्र सर्वसम्मति कायम गर्ने प्रयास आफूले निरन्तर गर्दै आएको उल्लेख गर्दै केसीले सहमति सम्भव नभएको अवस्थामा स्वस्थ र निष्पक्ष प्रतिस्पर्धालाई स्वीकार गर्नुपर्ने बताएका छन्।

उनका अनुसार महाधिवेशनमा हुने प्रतिस्पर्धा कुनै समूहगत दबाब, हस्तक्षेप वा विचार थोपर्ने प्रवृत्तिबाट मुक्त हुनुपर्छ। लोकतन्त्रको मूल सौन्दर्य नै विचार र विवेक प्रयोग गर्ने स्वतन्त्रतामा रहेको उनको भनाइ छ।

केसीले नेता तथा कार्यकर्तालाई व्यक्तिगत आग्रह–पूर्वाग्रह र आपसी मतभिन्नताभन्दा माथि उठेर पार्टीको दीर्घकालीन हितमा केन्द्रित हुन आग्रह गरेका छन्।

महाधिवेशनले कांग्रेसको संगठनलाई थप सुदृढ बनाउँदै पुस्तान्तरणलाई व्यवस्थित गर्नुपर्ने र बदलिएको राजनीतिक तथा सामाजिक परिवेशअनुसार पार्टीको भूमिकालाई पुनःपरिभाषित गर्नुपर्ने उनको धारणा छ।