
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहका अधिवेशन धमाधम सम्पन्न भइरहेका छन्। पार्टीका अनुसार हालसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन प्रक्रिया पूरा भएको छ।
आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको कांग्रेसले त्यसअघि स्थानीय तहदेखि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रसम्मका अधिवेशन सम्पन्न गर्न लागेको हो।
यसबीच विभिन्न जिल्लामा भइरहेको भारी वर्षाका कारण अधिवेशनको निर्वाचन प्रक्रिया प्रभावित भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। निर्वाचन अधिकृतहरूले मौसमका कारण केही स्थानमा अधिवेशन सञ्चालनमा कठिनाइ भइरहेको जानकारी पार्टीलाई गराएका छन्।
भारी वर्षाको सम्भावनासम्बन्धी मौसम विभागको सूचनालाई समेत ध्यानमा राख्दै कांग्रेसको निर्वाचन समितिले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनको कार्यतालिकामा लचकता अपनाएको छ।
यसअघि असोज १० गतेका लागि निर्धारण गरिएका प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम स्थानीय परिस्थिति र मौसमअनुकूल सञ्चालन गर्न निर्वाचन समितिले निर्देशन दिएको छ।
समितिले त्यस्ता निर्वाचन कार्यक्रम असोज १३ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको कांग्रेसले जनाएको छ।









Facebook Comments