
काठमाडौँ । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको आगामी नेतृत्वका लागि गगनकुमार थापाको विकल्प नरहेको बताएकी छन्। उनले आगामी १५औँ महाधिवेशनलाई पार्टीभित्रको एकता सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखेकी छन्।
रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेशले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको साक्षात्कारमा भुसालले कांग्रेसभित्र रहेका गुट–उपगुटको अन्त्य गर्दै सबै पक्षलाई समेटेर पार्टीलाई बलियो बनाउनुपर्ने बताइन्।
उनका अनुसार अहिलेको आवश्यकता अग्रजलाई सम्मान गर्दै नयाँ पुस्तालाई जिम्मेवारी दिने र संगठनलाई जनतासँग थप जोड्ने हो। त्यसका लागि गगन थापाको नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।
भुसालले लोकतन्त्रको संरक्षण र संस्थागत विकासमा कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्दै मुलुकको समृद्धि र दिगो विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताइन्। राजनीतिक दलहरू आफैँ पनि आन्तरिक रूपमा बलियो हुनुपर्ने उनको जोड थियो।
उनले पछिल्लो राजनीतिक समीकरणपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकार सञ्चालनको जिम्मेवारीमा पुगेको उल्लेख गर्दै वर्तमान सरकार पाँच वर्ष टिक्नुपर्ने धारणा राखिन्। यद्यपि, सरकारका गतिविधिमा जनताले दिएको विश्वासअनुसारको परिपक्वता नदेखिएको उनको टिप्पणी थियो।
भुसालले कांग्रेसको आगामी महाधिवेशनमा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिइन्। यसअघि उनले पूर्वसभापति शेरबहादुर देउवालाई सम्मानित अभिभावकको भूमिकामा स्वीकार गर्दै नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउने धारणा पनि सार्वजनिक गरेकी थिइन्।
उनको पछिल्लो अभिव्यक्ति कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनबारे पार्टीभित्र चलिरहेको बहसकै क्रममा आएको हो। भुसालले गगन थापालाई नेतृत्वका लागि उपयुक्त माने पनि अन्य नेताहरूको दाबी वा महाधिवेशनको अन्तिम परिणामबारे कुनै निर्णय भइसकेको छैन।









Facebook Comments