काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) मा सक्रिय भूमिकासहित पुनः फर्किएकी छन्। एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो वरीयतामा रहने गरी ‘वरिष्ठ नेता’को जिम्मेवारी दिएको हो।

भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा राखेका थिए। सचिवालयमा समेत यस विषयमा सहमति बनेपछि केन्द्रीय कमिटीले प्रस्ताव अनुमोदन गरेको एमाले नेताहरूले बताएका छन्। यद्यपि, एमालेको हालको विधानमा ‘वरिष्ठ नेता’ पदको स्पष्ट व्यवस्था छैन।

ad

राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेपछि भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किन पार्टी सदस्यता नवीकरणका लागि निवेदन दिएकी थिइन्। तर, लामो समयसम्म उनको सदस्यता नवीकरणको विषय विवादमा रह्यो। २०८२ साउन ६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो।

त्यतिबेला पूर्वराष्ट्रपतिको संवैधानिक मर्यादा र सक्रिय राजनीतिक भूमिकाबीचको सम्बन्धलाई लिएर एमालेभित्र बहस भएको थियो। अध्यक्ष ओली पक्षले राष्ट्रपतिको जिम्मेवारीमा पुगेपछि निष्क्रिय भएको पार्टी सदस्यता नवीकरण गर्न नमिल्ने तर्क गर्दै आएको थियो। पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काउँदा पदको गरिमामा असर पर्न सक्ने तर्कसमेत पार्टीभित्र उठेको थियो।

तर, समयक्रममा भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने माग एमालेभित्र बलियो बन्दै गयो। विधान महाधिवेशनमा समेत यस विषयमा आवाज उठेपछि अन्ततः गत जेठ ४ गते बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको थियो।

यसबीच एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनलाई लिएर पनि भण्डारीको राजनीतिक भूमिका चर्चामा आएको थियो। उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई समर्थन गरेको बताइए पनि अध्यक्षमा ओली निर्वाचित भएका थिए।

पार्टीभित्र नेतृत्व परिवर्तन र संगठन पुनर्गठनको बहस चलिरहेका बेला भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको हो। एमालेमा पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षाका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा कार्यदलसमेत गठन भएको थियो। कार्यदलको प्रतिवेदनमा पार्टी नेतृत्वसँग सम्बन्धित विषय समेटिएपछि त्यसले एमालेभित्र थप बहस सिर्जना गरेको थियो।

तर, पछिल्लो केन्द्रीय कमिटी बैठकमा भण्डारीलाई वरिष्ठ नेता बनाउने विषयमा विस्तृत बहस नभएको एक केन्द्रीय सदस्यले बताएका छन्। उनका अनुसार भण्डारीले पार्टी सदस्यता पुनः प्राप्त गरिसकेपछि उनलाई जिम्मेवारी दिइएको हो।

भण्डारीनिकट नेताहरूले पनि वरिष्ठ नेताको जिम्मेवारीलाई तत्कालका लागि संगठनात्मक जिम्मेवारीका रूपमा मात्र बुझ्नुपर्ने बताएका छन्। यस निर्णयलाई भविष्यमा पार्टी नेतृत्वसँग जोडेर विभिन्न कोणबाट विश्लेषण गरिए पनि त्यसबारे औपचारिक निर्णय नभएको उनीहरूको भनाइ छ।

भण्डारी २०७२ कात्तिक ११ गते पहिलोपटक नेपालको राष्ट्रपति निर्वाचित भएकी थिइन्। २०७४ फागुन २९ गते दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएकी उनी २०७९ फागुन २९ गते राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएकी थिइन्।

राष्ट्रपति रहँदा ओलीसँग उनको राजनीतिक निकटताबारे सार्वजनिक रूपमा चर्चा हुने गरेको थियो। राष्ट्रपति पदबाट बाहिरिएपछि भने भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको विषय एमालेभित्र लामो समय बहसको विषय बनेको थियो। अहिले वरिष्ठ नेताको जिम्मेवारी पाएसँगै उनको औपचारिक राजनीतिक सक्रियता पुनः सुरु भएको छ।