काठमाडौँ । नेकपा (एमाले) ले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने स्पष्ट गर्दै वर्तमान सरकारले अघि सारेको संविधान संशोधनको पहलप्रति प्रश्न उठाएको छ।

ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा असोज ५ देखि ८ गतेसम्म अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकले संविधान संशोधनका नाममा सरकारले अघि बढाएका कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

ad

एमालेले संविधानलाई समयअनुसार परिमार्जन गर्न सकिने गतिशील दस्ताबेजका रूपमा व्याख्या गरेको छ। आवश्यकता र औचित्य पुष्टि हुने अवस्थामा संविधानका विभिन्न प्रावधान संशोधन गर्न सकिने पार्टीको धारणा रहेको बैठकले पुनः स्पष्ट पारेको छ।

तर, वर्तमान सरकारको संविधानप्रतिको प्रतिबद्धता र निष्ठा स्पष्ट नभएको एमालेको ठहर छ। संविधान संशोधनका नाममा एकपक्षीय र अनुत्तरदायी ढंगले ‘कार्यदल’ गठन गरी संविधानका आधारभूत संरचनामै असर पार्ने प्रयास भइरहेको आरोप पार्टीले लगाएको छ।

सरकारको यस्तो पहल संविधानको मूल भावना र आधारभूत स्तम्भमाथि प्रहार गर्ने उद्देश्यबाट प्रेरित रहेको एमालेको निष्कर्ष छ। बैठकले संविधानका आधारभूत संरचनालाई कमजोर बनाउने कुनै पनि प्रयासको विरोध गर्ने निर्णय गरेको छ।

संविधानको रक्षा तथा त्यसका आधारभूत मान्यताको संरक्षणका लागि पार्टी दृढतापूर्वक उभिने प्रतिबद्धता पनि बैठकले व्यक्त गरेको छ।