
काठमाडौँ । नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठकले पार्टीको सांगठनिक संरचना विस्तारसहित विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। असोज ५ देखि ८ गतेसम्म ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो।
बैठकले ११औँ महाधिवेशनपछि केन्द्रीय कमिटीमा मनोनयन गर्न बाँकी रहेका सदस्यहरू चयन गर्नुका साथै पार्टीको नेतृत्व संरचनामा समेत केही महत्वपूर्ण निर्णय गरेको छ। पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यक्षपछिको दोस्रो वरीयतामा रहने गरी ‘वरिष्ठ नेता’ पदमा मनोनीत गरिएको छ।
त्यसैगरी बैठकले सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यका रूपमा चयन गरेको छ। स्थायी कमिटीमा चयन हुनेमा ईश्वर पोखरेल (काठमाडौँ), प्रदीप ज्ञवाली (गुल्मी), काशीनाथ अधिकारी (चितवन), देवराज घिमिरे (झापा), शिवमाया तुम्वाहाम्फे (मोरङ), लालबाबु पण्डित (मोरङ) र थममाया थापा (म्याग्दी) रहेका छन्।
बैठकबाट २० जना नयाँ केन्द्रीय कमिटी सदस्य पनि मनोनीत भएका छन्। मनोनीत हुनेमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरुङ, प्रेम दङ्गाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्वाहाम्फे, कौशिला खत्री, जानुका सिम्खडा र बिना बास्तोला छन्।
विभिन्न राजनीतिक दलबाट एमालेमा समायोजन भएका १३ जना नेताहरूलाई पनि बैठकले केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी दिएको छ। यसरी केन्द्रीय सदस्य बन्नेमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव, अब्दुल हुसैन अंसारी, डिबी कार्की, भवानी खापुङ, दीपक साउद, जय गोलेर तामाङ, धर्मराज निरौला, रवि चामलिङ, विनोद पहाडी, श्रीप्रसाद शर्मा, रामप्रीत राम र ध्रुव विष्ट रहेका छन्।
बैठक समापनका क्रममा अध्यक्ष ओलीले एमालेभित्र उन्नतस्तरको समझदारी र सुदृढ एकता कायम रहेको दाबी गरे। तेस्रो केन्द्रीय कमिटी बैठकले पनि पार्टी एकताबद्ध रहेको पुष्टि गरेको उल्लेख गर्दै उनले सहभागी केन्द्रीय सदस्यहरूप्रति आभार व्यक्त गरे।
बैठकले पार्टीका अन्य सांगठनिक संरचनालाई पूर्णता दिने विषयमा पनि निर्णय गरेको छ। स्थायी कमिटीलाई पूर्णता दिने, पोलिटब्युरो गठन गर्ने, सल्लाहकार परिषद् तथा केन्द्रीय विभागहरू गठन गर्ने र ज्येष्ठ कम्युनिस्ट मञ्च बनाउने विषयमा निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीले सचिवालयलाई दिएको छ।
अब यी विषयमा आवश्यक निर्णय सचिवालय बैठकमार्फत अघि बढाइने एमालेले जनाएको छ।









Facebook Comments