काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पूर्वसभापति शेरबहादुर देउवाको उपस्थितिमै पार्टीको १५औँ महाधिवेशन उद्घाटन गर्न आफूहरू इच्छुक रहेको बताएका छन्।

काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै पौडेलले महाधिवेशन प्रक्रियाबाट बाहिर रहेका नेताहरूलाई समेत सहभागी गराउने प्रयास भइरहेको बताए। उनले देउवालाई महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा निम्त्याउने तयारी रहेको जानकारी दिए।

ad

पौडेलले पार्टीभित्र कसैलाई अपमान गर्ने वा चोट पुर्‍याउने उद्देश्य नरहेको उल्लेख गर्दै बाहिर रहेका नेताहरूलाई पनि अधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरे।

उनका अनुसार महाधिवेशनमा सबैलाई सहभागी गराउने उद्देश्यले यसअघि गरिएका कतिपय निर्णय फिर्ता लिएर कार्यान्वयनसमेत गरिएको छ। त्यसपछि धेरै नेता र कार्यकर्ता अधिवेशन प्रक्रियामा जोडिएको उनले बताए।

महामन्त्री पौडेलले कांग्रेस लोकतन्त्रको विकल्प खोज्ने पक्षमा नरहेको पनि स्पष्ट पारे। उनका अनुसार लोकतन्त्रको संरक्षण र सुदृढीकरण कांग्रेसको मूल राजनीतिक प्रतिबद्धता हो।

उनले एउटा निर्वाचनमा पराजित हुँदैमा पार्टी निराश हुनुपर्ने अवस्था नरहेको बताए। कांग्रेसले नागरिकको चाहना र आवश्यकताअनुसार आफूलाई निरन्तर सुधार र परिमार्जन गर्दै आएको उनको भनाइ थियो।

पौडेलले महामन्त्री गगन थापाको नेतृत्वप्रति पार्टीभित्र र बाहिर अपेक्षा बढिरहेको दाबीसमेत गरे। उनले थापा अहिले कांग्रेसको आवश्यकता बनेको र आगामी दिनमा देशकै आवश्यकता बन्ने दाबी गरे।

‘कांग्रेसलाई परिमार्जन गर्दै नागरिकले रुचाएको नेतृत्व स्थापित गरेका छौँ,’ पौडेलले भने, ‘१५औँ महाधिवेशनपछि पार्टीलाई थप व्यवस्थित ढंगले अघि बढाउनेछौँ।’

कांग्रेसले आफूलाई सुधार र परिष्कृत गरेको विषय नागरिकसमक्ष विश्वसनीय रूपमा प्रस्तुत गर्नुपर्नेमा पनि उनले जोड दिए। उनका अनुसार पार्टीभित्रको सुधारलाई संगठनात्मक प्रक्रियामार्फत संस्थागत गर्दै अघि बढ्ने तयारी छ।