
काठमाडौं — नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत बुधबार देशभरका स्थानीय तहमा अधिवेशन प्रक्रिया अघि बढेको छ। पार्टीका अनुसार ५८ जिल्लाका ५१२ पालिकामा उद्घाटन तथा बन्द सत्रसहित निर्वाचन प्रक्रिया सम्पन्न भएको छ।
कांग्रेसले तय गरेको महाधिवेशन कार्यतालिकाअनुसार बाँकी २४१ पालिकामा असोज ८ र ९ गते अधिवेशन गरिनेछ। केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने गरी पार्टीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
यसैबीच, असोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै कांग्रेसले अधिवेशनमा खटिएका निर्वाचन अधिकृतलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सम्बन्धित निर्वाचन अधिकृतलाई आफ्नो जिम्मेवारीअन्तर्गत पर्ने पालिका, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सञ्चालन गर्दा स्थानीय मौसमको अवस्थालाई ध्यान दिन आग्रह गरेका छन्।
मौसम प्रतिकूल भएमा अधिवेशनका कार्यक्रमलाई अनुकूल समय मिलाएर सञ्चालन गर्नसमेत निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको कांग्रेसले जनाएको छ।









Facebook Comments