
काठमाडौँ । नेपाली कांग्रेसले आगामी दिनमा हुन सक्ने भारी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै तल्लो तहका अधिवेशनहरूमा उच्च सतर्कता अपनाउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ।
मौसम विभागको चेतावनी अनुसार असोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुन सक्ने देखिएकाले पार्टीले सुरक्षा र सुविधालाई पहिलो प्राथमिकतामा राखेको हो। केन्द्रीय कार्यसमितिका सदस्य–सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा अधिवेशनहरू गर्दा मौसमको अवस्था हेरी अनुकुल समय मिलाएर मात्र प्रक्रिया अघि बढाउन भनिएको छ।
१५औँ महाधिवेशन अन्तर्गत हालसम्म देशभरका ५८ जिल्लाका ५१२ वटा पालिकामा उद्घाटन र निर्वाचनसहितका काम भइसकेका छन्। बाँकी २४१ वटा पालिकामा भने असोज ८ र ९ गते अधिवेशन प्रक्रिया सञ्चालन गर्ने तयारी गरिएको छ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म तोकिएको छ।
मौसमको प्रतिकूलताका कारण हुन सक्ने बाढी, पहिरो तथा यातायात अवरोधलाई ध्यानमा राख्दै स्थानीय अवस्था अनुसार कार्यतालिकालाई लचिलो बनाएर सुरक्षित ढङ्गले अधिवेशन सम्पन्न गर्न कांग्रेसले विशेष जोड दिएको छ।









Facebook Comments