
काठमाडौं । नेपाली कांग्रेसले १८ वर्ष उमेर पूरा नगरेका व्यक्तिको पार्टी सदस्यता र प्रतिनिधित्व कायम हुन नसक्ने स्पष्ट गर्दै इलामका एक क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी स्थगन गरेको छ।
पार्टीको विधान, २०१७ को एघारौँ संशोधनसहितको व्यवस्थाअनुसार कांग्रेसको सदस्य बन्न १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने प्रावधान छ। सोही व्यवस्थालाई आधार बनाउँदै इलामको माइजोगमाई गाउँपालिका–५ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित सुजल चापागाईंको जिम्मेवारी स्थगन गरिएको हो।
कांग्रेसका अनुसार नागरिकता विवरणमा चापागाईंले १७ वर्ष पूरा गरेको र १८ वर्ष पुग्न अझै केही महिना बाँकी रहेको देखिएको छ।
पार्टीले चापागाईंले आगामी २०८३ माघ १८ गते १८ वर्ष उमेर पूरा गरेपछि आफ्नो इच्छाअनुसार पार्टी सदस्यता कायम गर्न सक्ने जनाएको छ।
वडा तहका अधिवेशनका क्रममा अन्य जिल्लामा पनि १८ वर्ष उमेर नपुगेका व्यक्ति प्रतिनिधिका रूपमा निर्वाचित भएको भेटिएमा उनीहरूको हकमा समेत यही प्रक्रिया अपनाइने कांग्रेसले जनाएको छ।
यससम्बन्धी जानकारी गराउँदै कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमार्फत सम्बन्धित सबैलाई पार्टी विधानमा रहेको उमेरसम्बन्धी व्यवस्थाबारे जानकारी गराइएको छ।









Facebook Comments