
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ राजनीतिक निकासका लागि नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्।
जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत आफ्नो दस्ताबेजमार्फत भट्टराईले पुनर्गठन कार्यदलका निष्कर्ष तथा आम जनसमुदायबाट व्यक्त धारणालाई गम्भीरतापूर्वक लिएर पार्टी नेतृत्वले साहसिक निर्णय गर्नुपर्ने बताएका हुन्।
उनले ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने धारणा राख्दै नेतृत्व हस्तान्तरणलाई कुनै व्यक्तिलाई हटाउने वा स्थापित गर्ने विषयका रूपमा मात्र बुझ्न नहुने उल्लेख गरेका छन्। उनका अनुसार यो पार्टीको लोकतान्त्रिक संस्कार, पुस्तान्तरण, वैचारिक पुनर्जागरण र नयाँ राजनीतिक विश्वास निर्माणसँग जोडिएको विषय हो।
भट्टराईले नेतृत्वको महत्त्व पदमा लामो समय टिकिरहनुमा नभई आफूले निर्माण गरेको आन्दोलनलाई नयाँ नेतृत्वमार्फत अघि बढाउन सक्ने क्षमतामा हुने बताएका छन्। एक पुस्ताबाट अर्को पुस्तामा जिम्मेवारी हस्तान्तरण गर्नु राजनीतिक कमजोरी नभई परिपक्वता र दूरदर्शिताको परिचायक हुने उनको भनाइ छ।
उनले पार्टीको विचारलाई व्यक्तिभन्दा र पार्टीको संस्थागत निरन्तरतालाई कुनै एक व्यक्तिको निरन्तरताभन्दा माथि राख्नुपर्नेमा जोड दिएका छन्। नेतृत्व पदमा टिकिरहने विशेषाधिकार नभई आन्दोलन, पार्टी र वर्गप्रतिको जिम्मेवारी भएको उनले बताएका छन्।
भट्टराईले आमसहमतिका आधारमा नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। त्यससँगै तत्काल राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक र विधान महाधिवेशन आयोजना गर्नुपर्ने उनको माग छ।
पार्टीको संगठनात्मक संरचना तथा नेतृत्व प्रणालीलाई समयानुकूल बनाउन आवश्यकताअनुसार विधान संशोधन गर्नुपर्ने सुझावसमेत उनले दिएका छन्। साथै, नयाँ राजनीतिक प्रतिवेदनमार्फत पार्टीको वैचारिक कार्यदिशा, राजनीतिक कार्यभार र संगठनात्मक प्राथमिकता पुनः स्पष्ट गर्नुपर्ने धारणा उनले राखेका छन्।









Facebook Comments