काठमाडौं । बहुचर्चित टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पाएको राष्ट्रपतिको माफीलाई सर्वोच्च अदालतले मान्यता दिएको छ। सरकारको सिफारिसमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको कैद मिनाहाविरुद्ध दायर रिट सर्वोच्चले खारेज गर्दै माफीलाई सदर गरेको हो।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले अन्तिम सुनुवाइ गर्दै उक्त रिट खारेज गरेको हो। टीकापुर घटनामा ज्यान गुमाएका तत्कालीन प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कठायतले राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेकी थिइन्।

ad

विसं २०७२ मा संविधान जारी हुने बेला कैलालीको टीकापुरमा भएको हिंस्रक झडपमा नेपाल प्रहरीका तत्कालीन एसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो। सोही घटनामा अदालतले चौधरीको मुख्य संलग्नता रहेको ठहर गर्दै जिल्लादेखि सर्वोच्चसम्मै जन्मकैदको सजाय सुनाएको थियो। उनी जेल जीवन बिताइरहेकै अवस्थामा गणतन्त्र दिवसको अवसर पारेर उनको बाँकी सजाय माफी गरिएको थियो।

सर्वोच्चको यो फैससँगै आफूले कानुनी न्यायको अनुभूति गरेको प्रतिक्रिया रेशम चौधरीले सामाजिक सञ्जालमार्फत दिएका छन्। उनले न्याय दिएको भन्दै सर्वोच्च अदालतप्रति आभार समेत प्रकट गरेका छन्।