काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले सरकारको नेतृत्व र अनुहार परिवर्तन भए पनि आम नागरिकको दैनिकीमा अपेक्षित सुधार आउन नसकेको बताएकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विगतमा सरकारको आलोचना गर्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिनेहरू अहिले सत्तामा पुगेपछि नागरिकका वास्तविक समस्या बुझ्न चुकेको टिप्पणी गरिन्।

ad

‘सत्ता, शक्ति, अनुहार सबै परिवर्तन भए तर आज पनि नागरिकको जनजीवन उस्तै छ,’ उनले भनिन्, ‘हिजो सरकारका विरुद्ध स्टाटस लेखेर डलर कमाउँदै भ्रम र आश्वासन बाँड्नेहरूले आज किन जनताका स्टाटस बुझ्ने हिम्मत नराखेको?’

थपलियाले नागरिकले सरकारबाट भाषण र आश्वासनभन्दा ठोस काम तथा जवाफ खोजिरहेको बताइन्। उनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको समाचार बुलेटिनमा आम नागरिक, विशेषगरी श्रमिक वर्गका समस्या पर्याप्त रूपमा नसमेटिएको भन्दै प्रश्न उठाइन्।

‘फेसबुकमा गुड जब लेख्न नसक्ने श्रमिक पनि नेपाली हुन् भन्ने अनुभूति सरकारलाई छ कि छैन?’ भन्दै उनले महँगीको मारमा परेका श्रमिक, रोजगारीको अवसरबाट वञ्चित नागरिक र सीमान्तकृत समुदायका समस्यालाई सरकारको प्राथमिकतामा राख्न आग्रह गरिन्।

रास्वपाको आधिकारिक सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभा सदस्य रिमा विश्वकर्माले सरकारका गतिविधि समेटिएको समाचार बुलेटिन वाचन गर्दै आएकी छन्।

फुर्के खोला पुल पुनर्निर्माणमा ढिलाइप्रति आपत्ति
थपलियाले धादिङमा त्रिशूली नदीमाथि रहेको फुर्के खोलाको पक्की पुल बाढीले बगाएको २८ दिन बितिसक्दा पनि पुनर्निर्माणको काम अघि नबढेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

पुल भत्किएपछि त्रिशूलीपारिका आठ स्थानीय तह, धादिङ सदरमुकाम तथा उत्तरी गोरखाका नागरिकको आवागमन प्रभावित भएको उनको भनाइ छ।

‘सरकारका लागि यो सामान्य पुल होला, तर त्रिशूलीपारिका ८ वटा पालिका, धादिङ सदरमुकाम र उत्तरी गोरखाका लाखौँ नागरिकका लागि यो अत्यन्तै महत्त्वपूर्ण सडक हो,’ उनले भनिन्।

उनले पुललाई स्थानीय जनजीवनको ‘मेरुदण्ड’सँग तुलना गर्दै पुल नहुँदा धादिङको समग्र जनजीवन प्रभावित भएको बताइन्।

‘यो पुल हाम्रो शरीरको मेरुदण्डजस्तै हो। मेरुदण्ड भाँचिएपछि शरीर नचलेजस्तै यो पुल नहुँदा आज समग्र धादिङको जनजीवन प्रभावित हुन पुगेको छ,’ उनले भनिन्।

थपलियाले नागरिकको आवागमन र दैनिक जीवन सहज बनाउन फुर्के खोला पुलको पुनर्निर्माण तत्काल अघि बढाउन सरकारसँग माग गरिन्।