काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विचार र राजनीतिक दृष्टिकोण मिल्ने कम्युनिस्ट तथा देशभक्त गणतन्त्रवादी दल र समूहसँग एकताको पहल अघि बढाउन तीन सदस्यीय वार्ता समिति गठन गरेको छ।

पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ सदस्य रहेको समिति गठन गरेको हो। समितिलाई समान विचारधारा भएका दल तथा समूहसँग संवाद गर्दै एउटै कम्युनिस्ट पार्टी निर्माणका लागि आवश्यक पहल गर्ने जिम्मेवारी दिइएको छ।

ad

नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार पार्टीले विचार मिल्ने सबै पक्षसँग एकताका लागि संवाद अघि बढाउनेछ। उनका अनुसार बैठकले पार्टी तथा जनवर्गीय संगठनको समायोजन, सदस्यता नवीकरण र संगठन सुदृढीकरणलाई पनि प्राथमिकतामा राखेको छ।

त्यस्तै, अन्य कम्युनिस्ट तथा राजनीतिक समूहलाई पार्टीमा समाहित गर्ने विषयमा समेत बैठकमा छलफल भएको छ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा माधवकुमार नेपालको सञ्चालनमा बसेको बैठकले आगामी महाधिवेशन र अधिवेशन, सचिवालय तथा कार्यसमिति बैठक सञ्चालनलगायतका विषयलाई पनि छलफलको एजेन्डामा राखेको छ।

बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति र त्यसअनुसार पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे समेत छलफल हुने प्रवक्ता ज्वालाले जानकारी दिए।

यसैगरी, भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणका लागि सञ्चालन गरिने अभियानबारे पनि बैठकमा छलफल गर्ने तयारी छ।