काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा न्यायालय सुधारको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एमाले)का सांसदबीच सवाल–जवाफ भएको छ।

बैठकमा रास्वपा सांसद यज्ञमणि न्यौपानेले नेपालको न्यायालयको संरचना र कार्यशैलीमाथि प्रश्न उठाउँदै सुधारको बहस संसद्बाटै सुरु गर्नुपर्ने धारणा राखे। उनले न्यायालयले दुईतिहाइको सरकारलाई समेत काम गर्न अवरोध गरेको आरोप लगाए।

ad

न्यौपानेले न्यायालयमा सुधार नगरे राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था नफेरिने तर्क गरे।

उनले न्यायालयलाई व्यंग्यात्मक रूपमा स्वस्थानी कथासँग तुलना गर्दै भने, “यो न्यायालय बोकेर हिँड्यौँ भने स्वस्थानी कथा जस्तो महादेवले सतिदेवी बोकेर हिँडेजस्तो हुन्छ । जहाँ–जहाँ गयो त्यही–त्यही पतन हुने।”

न्यायालय परिवर्तन अहिलेको आवश्यकता भएको दाबी गर्दै न्यौपानेले यस विषयमा संसद् र सरकार दुवै तहबाट बहस अघि बढाउनुपर्ने बताए।

“अब पालो हाम्रो छ । सक्किने कि सच्चिने ? सच्चिने हो भने न्यायालय सच्याउनेतर्फ अब बहस सुरु हुनुपर्छ । संसद्, सरकारमा सुरु हुनुपर्छ,” उनले भने।

न्यौपानेको अभिव्यक्तिप्रति एमाले सांसद गुरु बरालले आपत्ति जनाए। उनले न्यायालय र न्यायमूर्तिमाथि हुने आक्रमण वा हस्तक्षेप स्वीकार्य नहुने भन्दै न्यौपानेले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग गरे।

बरालले विगतको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित विभिन्न अदालतमा भएको तोडफोड र आगजनीको प्रसंगसमेत उठाए।

“न्यायालयमाथि जसरी हस्तक्षेप गर्ने कुरा गरिँदैछ । जेनजी आन्दोलनका बेलामा सर्वोच्च लगायतका धेरै अदालतमा आगो लगाएर यो देशको न्याय व्यवस्थामा हमला गरियो,” बरालले भने, “अब फेरि नयाँ हमला के गर्न खोजिँदैछ ?”

बरालको भनाइपछि न्यौपानेले पुनः नियमापत्ति जनाए। सभामुखको आसनमा रहेकी उपसभामुख रुबी कुमारीले विषयमा ध्यानाकर्षण भइसकेको भन्दै न्यौपानेलाई बस्न आग्रह गरिन्।

तर, न्यौपानेले आफूले आफ्नो कुरा राख्नुअघि नै कसरी ध्यानाकर्षण भएको भन्दै प्रश्न गरे। उनले विपक्षी बेन्चबाट आएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए।

“विपक्षी बेञ्चबाट जे कुरा बोलियो । संविधानको २१ (घ) विपरीत बोल्दै हुनुहुन्छ । संसद्को विरुद्धमा बोल्दै हुनुहुन्छ,” उनले भने।

न्यायालय सुधारबारे गम्भीर बहस आवश्यक रहेको दोहोर्‍याउँदै न्यौपानेले संसद् नै त्यस्ता विषयमा छलफल गर्ने थलो भएको तर्क गरे।