
काठमाडौं । अन्तर्राष्ट्रिय सुरुङ तथा भूमिगत उद्धार विशेषज्ञ प्रोफेसर अर्नोल्ड डिक्सले नेपालमा विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियान अत्यन्त जटिल र असाधारण प्रकृतिको रहेको बताएका छन्।
दि काठमाडौं फ्रिक्वेन्सीको युट्युब च्यानलमा प्रकाशित विशेष पोडकास्टमा कुराकानी गर्दै डिक्सले नेपालमा भइरहेको उद्धार अभियान आफूले व्यावसायिक जीवनमा अनुभव गरेका अन्य उद्धार अभियानभन्दा निकै फरक रहेको बताएका हुन् ।
उनका अनुसार नेपालमा एउटै स्थानमा मात्र उद्धार केन्द्रित गर्नुपर्ने अवस्था छैन। बाढीबाट प्रभावित विभिन्न स्थानमा एकैपटक सम्भावित उद्धार अभियान सञ्चालन गर्नुपर्ने भएकाले उद्धार टोलीसामु थप चुनौती सिर्जना भएको छ। प्रत्येक स्थानमा फरक जोखिम, भौगोलिक अवस्था र प्राविधिक चुनौती रहेकाले उद्धार कार्य थप जटिल बनेको उनको भनाइ छ।
बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भूमिगत संरचनाभित्र ठूलो मात्रामा माटो, ढुंगा, पानी र भग्नावशेष जम्मा भएको डिक्सले बताएका छन्। त्यसले सुरुङभित्र सम्भावित रूपमा फसेका मानिससम्म पुग्न र उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न कठिनाइ भइरहेको उनले उल्लेख गरेका छन् । तर, सुरुङ बाहिरबाट हेर्दा अवस्था अत्यन्तै भयावह देखिए पनि भित्रको अवस्था त्यति निराशाजनक नहुन सक्ने डिक्सको भनाइ छ। सुरुङभित्र कतिपय स्थानमा हावा पुग्ने, पानीको स्रोत उपलब्ध हुने वा सुरक्षित खाली ठाउँ बन्न सक्ने भएकाले कठिन परिस्थितिमा पनि मानिस केही समयसम्म जीवित रहन सक्ने सम्भावना रहने उनले बताएका छन्। नेपालमा जारी उद्धार अभियानलाई आफूले निकै गम्भीर चुनौतीका रूपमा लिएको बताउँदै डिक्सले सम्भावित रूपमा सुरुङभित्र रहेका व्यक्तिको खोजीलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार उद्धारका क्रममा बाहिरबाट देखिएको अवस्थाका आधारमा मात्र सुरुङभित्र जीवनको सम्भावना समाप्त भएको निष्कर्ष निकाल्नु उचित हुँदैन।
यसअघि पनि नेपालका बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङबाट केही कामदार जीवित उद्धार भएका घटनाले भूमिगत संरचनाभित्र ‘जीवनको सम्भावना’ रहने तथ्यलाई थप बल दिएको छ। डिक्सले नेपालमा भइरहेको खोज तथा उद्धारलाई प्राविधिक दक्षता, धैर्य र समन्वयका साथ अघि बढाउनुपर्ने धारणा राख्नुभएको छ। नेपालमा बाढीका कारण जलविद्युत् आयोजनासहित विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुगेपछि नेपाली सुरक्षा निकायसँगै विदेशी प्राविधिक तथा उद्धार विज्ञहरूले समेत खोज तथा उद्धार कार्यमा सहयोग गरिरहेका छन्। डिक्स पनि भूमिगत उद्धारका प्राविधिक पक्षमा नेपाली उद्धार टोलीलाई सहयोग तथा परामर्श दिँदै आएका छन् ।
पोडकास्टमा डिक्सले नेपालमा जारी उद्धार अभियान, सुरुङभित्र फसेका व्यक्तिको सम्भावित अवस्था, उद्धारका प्राविधिक चुनौती तथा आगामी दिनमा देखिन सक्ने विपद्का जोखिमबारे आफ्नो अनुभव र धारणा साझा गरेका छन् ।









Facebook Comments