काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलियाले बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणदेखि नागरिकका दैनिक समस्यासम्म सरकारले पर्याप्त ध्यान नदिएको आरोप लगाएकी छन्।

बिहीबार प्रतिनिधिसभामा सम्बोधन गर्दै सांसद थपलियाले प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक गरेको १०० बुँदे संकल्पको कार्यान्वयनबारे प्रश्न उठाइन्। उनले सरकारका घोषणा र नागरिकले भोगिरहेका समस्याबीच ठूलो अन्तर देखिएको बताइन्।

ad

उनका अनुसार भोटेकोशी बाढीका कारण त्रिशूली नदीस्थित फुर्केखोलाको पुल बगेको २३ दिन बितिसक्दा पनि अस्थायी बेलिब्रिज निर्माणमा सरकारले अपेक्षित तदारुकता देखाएको छैन। यसअघि पनि संसदमार्फत पटक–पटक ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको उनको गुनासो थियो। ‘सरकार कानमा तेल हालेर, आँखामा पट्टी बाँधेर बसेको छ,’ उनले भनिन्।

फुर्केखोलामा तत्काल पुल नबन्दा धादिङका नागरिकको आवतजावत तथा दैनिक जीवन प्रभावित भएको उल्लेख गर्दै उनले अब आश्वासनभन्दा काम आवश्यक रहेको बताइन्। ‘इन्तु परन्तु होइन, धादिङका नागरिकलाई फुर्केखोलामा पुल चाहिन्छ,’ उनले भनिन्।

बाढीपीडितलाई राहत र ऋणमा सहुलियत माग
सांसद थपलियाले धादिङ, रसुवा र नुवाकोटका बाढी प्रभावित नागरिक तथा व्यवसायीले बैंकबाट लिएको ऋणको ब्याज र विद्युत् महसुल पुनर्स्थापना नभएसम्म मिनाहा गर्न सरकारसँग माग गरिन्। प्रभावित परिवारको आधारभूत आवश्यकता सुनिश्चित गर्नसमेत उनले आग्रह गरिन्।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा दोहोरिइरहने पहिरोको समस्या समाधानका लागि तत्कालीन व्यवस्थासँगै दीर्घकालीन वैकल्पिक सडक निर्माण आवश्यक रहेको उनको भनाइ थियो। मलेखु–ताल्ती हुँदै भण्डारा जोडिने चेपाङ मार्गलाई वैकल्पिक सडकका रूपमा विकास गर्न सकिने उनले सुझाव दिइन्।

प्रसूति सेवामा देखिएको समस्यामाथि प्रश्न
प्रसव पीडामा रहेकी महिलाले सडकमा नै बच्चा जन्माउनुपरेको घटनालाई लिएर पनि उनले सरकारको जवाफ मागिन्। अस्पताल पुग्दा उपचार सुरु गर्नुअघि पैसा खोजिएको हो भने त्यस्तो व्यवहारबारे छानबिन र कारबाही हुनुपर्ने उनको भनाइ थियो।

घटनामा संलग्न अस्पतालमाथि कारबाही हुने वा नहुने तथा पीडित परिवारले न्याय पाउने वा नपाउने विषयमा प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीसँग उनले जवाफ मागिन्।

‘एउटी आमाको प्रसव पीडालाई पनि राजनीतिक षड्यन्त्र देख्न थाल्यौँ भने हामी कस्तो राजनीति गरिरहेका छौं?’ उनले प्रश्न गरिन्।

१०० दिनको उपलब्धिमाथि प्रश्न
प्रधानमन्त्री शाहको १०० बुँदे संकल्प स्मरण गराउँदै सांसद थपलियाले घोषणाको संख्या होइन, त्यसबाट नागरिकको जीवनमा आएको परिवर्तन महत्वपूर्ण हुने बताइन्।

‘तपाईंले गर्नुभएको १०० बुँदे संकल्प कहाँ पुग्यो?’ भन्दै उनले सरकारले गरेका प्रतिबद्धताको वास्तविक कार्यान्वयनबारे जनताले जवाफ खोजिरहेको बताइन्।

मन्त्रीहरूका सार्वजनिक अभिव्यक्ति र नागरिकले भोगिरहेको वास्तविकताबीच मेल नदेखिएको उनको टिप्पणी थियो। ग्यासको अभाव, बढ्दो महँगी तथा खाली सिलिन्डर बोकेर उपभोक्ताले लाइन बस्नुपर्ने अवस्थाप्रति उनले सरकारको ध्यानाकर्षण गराइन्।

सुकुम्बासी व्यवस्थापनमा दीर्घकालीन समाधानको माग
काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाइएको विषय पनि उनले संसदमा उठाइन्। विस्थापित परिवारमध्ये कति पहिचान भए, कति परिवारले स्थायी आवास पाए र बाँकीलाई कहिलेसम्म आवास उपलब्ध गराइने हो भन्नेबारे उनले सरकारसँग जवाफ मागिन्।

उनले डोजर चलाएर बस्ती हटाउनु मात्र समस्याको समाधान नभएको बताउँदै वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारलाई सम्मानपूर्वक स्थायी आवास र अधिकार उपलब्ध गराउनुपर्ने धारणा राखिन्।

पुराना राजनीतिक दलका कमजोरीमाथि प्रश्न उठाउनु स्वाभाविक भए पनि पुराना दललाई आलोचना गर्दैमा नयाँ राजनीतिक मान्यता स्थापित नहुने उनले बताइन्। आफूहरूमाथि प्रश्न उठ्दा प्रतिशोधको व्यवहार गर्ने र अरूमाथि प्रश्न उठाउँदा त्यसलाई स्वाभाविक ठान्ने प्रवृत्तिले राजनीतिक संस्कारबारे प्रश्न उठाएको उनको भनाइ थियो।

जलवायु न्यायको मुद्दा उठाउन आग्रह
प्रधानमन्त्री शाहको संयुक्त राष्ट्रसंघको महासभा भ्रमण सफल होस् भन्ने शुभकामना दिँदै सांसद थपलियाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले जलवायु परिवर्तन र जलवायु न्यायको मुद्दा प्राथमिकताका साथ उठाउनुपर्ने बताइन्।

जलवायु संकट सिर्जनामा नेपालको योगदान तुलनात्मक रूपमा न्यून भए पनि त्यसको असर नेपालले भोगिरहेको उल्लेख गर्दै उनले नेपालको माग आर्थिक सहयोगमा मात्र सीमित हुन नहुने बताइन्।

अन्त्यमा उनले सरकारको मूल्यांकन मन्त्री परिवर्तन वा घोषणाबाट नभई नागरिकको जीवनमा देखिएको परिणामबाट हुने बताइन्। अस्पतालमा सहज उपचार, भूमिहीनको अधिकार, युवाका लागि अवसर र सरकारले गठन गरेका आयोगका प्रतिवेदन सार्वजनिक भए–नभएको विषयलाई उनले जनताको चासोका प्रमुख सवालका रूपमा प्रस्तुत गरिन्।

‘अब मन्त्री फेरिने होइन, प्रणाली सुधार्ने समय हो। अब आश्वासन बाँड्ने होइन, परिणाम दिने समय हो,’ उनले भनिन्।