
७३ वर्ष अगाडि–
पहिलोपटक शिखर चुम्न सक्नेले पाएको स्वागत अपार थियो
विश्वकै एउटा उत्सव बनेको त्यो
साँच्चिकै एउटा वीरले पाएको स्वागत
सुप्रदीप्त मान्यवर नेपाल तारा तक्माबाट नै सम्मानित
विश्वका अरू देशहरूबाट पनि तक्माको ओइरो
महाकविले कविता नै लेखे ‘तेन्जिङ’ विजयको
जनकवि केशरीले गीत नै गाए रेडियो नेपालबाट ः
‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरो’
विश्वको सर्वोच्च शिखर सगरमाथाको त्यो आरोहणले
‘पर्वतारोहणको लेजेन्ड’ बनेका उनी ।
घन्टाउके स्वागत सत्कार छ अहिलेको नेपालमा
भ्रष्टाचारका शिखर चुमेकाहरूको
हराउन लागेका यी
गोलबन्द भएका अर्को त्रिमूर्ति शिखरत्वका लागि
‘भ्रष्टाचार आरोहणको लेजेन्ड’को स्वागतमा जुटेका
पेडा ख्वाएर ‘भेडा’ बनाइएकाहरूको संगृृहीत झुन्ड देखाउन
मानौँ ऊ ठुलो वीर हो
मुलुकको लागि विजय हासिल गरेर फर्केको छ ।
खाँचो परे विवाहको दोहोरो खर्च बेहोर्थे राणाकालमा
स्वागत समारोह या भेलाका लागि
पञ्चायतकालमा अञ्चलाधीशले मान्छे जम्मा परिदिन्थे
अहिले त गणतन्त्रात्मक लुटप्रदत्त आम्दानी भएकाहरूले
या आफ्नोअन्तर्गत फन्डिङ पाएका एनजिओ भएकाको लागि
पटके केही मान्छे जम्मा गर्न कुनै गाह्रो नै भएन
तर लगातार गर्नुप¥यो भनेचाहिँ सजिलो नहुन सक्छ
प्रश्न उत्तर दुवै रकम कलमकै त हो ।
एउटा मित्रले भन्दै थिए–
क्याटरिङमा जस्तो जति मान्छेका लागि हो
त्यस्तै स्वागत–भेलामा मान्छे जम्मा हुन सक्छन्
फूल, अबिर, बाजागाजा, नाराबाजी, मोटरसाइकल ¥यालीसहित
पुलिसको भाटा खानुपर्ने भएमा एक्स्ट्रा खर्च
यसका लागि एक किसिमका कम्पनी नै खुलेका छन्
भाउ तल गएका बेला सेयर किन्नेजस्ता व्यवसायी तयार छन्
कुरा सुनेरै म त जिल्ला परेँ ।
एक छाक पेटभर खान पाउँदा विजय प्राप्ति तृप्तिको अनुहार
त्यो गद्गद् अनुहार मैले आफैँले देखेको
त्यही अनुहारको परिवार–
अहिले महिनौँसम्म महाराजासरह विदेशमा घुम्न सक्छ
भ्रष्टाचारको प्रमाण अरू केही चाहिन्छ र ?
त्यसरी घुम्ने, बस्ने, उपचार गर्ने रकम कहाँबाट आयो ?
अगाडिजस्तो आलिसान भिला ठेकदारसँग लिएर
नाम, अनाम, छद्मनाम, गुमनाममा राखेर बेइमान गरे पनि
पार्टीले भाडा तिरेकाले बसेको छु भनेजस्तो गरी भन्न नमिल्ने
पार्टीको हैकमबाटै बाहिर भएको बेला
त्यसैले नेपाली जनताको हक हो यो जान्न पाउने
स्वागतको नगरा बजाएको ठुलो आवाजमा यो दबिनुहुँदैन ।
एउटा पुतलीलाई पनि नोक्सान गर्न नसक्ने मान्छे म
हत्या हिंसा त कल्पनाबाहिरको कुरा
तर याद आयो मुलुकलाई माया गर्ने सन्दर्भमा जुलियस सिजरको
जुलियस सिजरले रोमन साम्राज्य बनाएर बलियो पारे
कुनै भ्रष्टाचार गरेनन्
आफूलाई सम्राट पनि घोषणा गरेनन्
तर, तानाशाह हुँदै जाँदा संसदीय गणतन्त्र नै खतरामा प¥यो
मुलुकको हित सर्वोपरि ठान्ने ब्रुटस उत्रिए मैदानमा
जुन ब्रुटसलाई सिजरले आफ्नै छोरासरह माया गर्थे
र, उसले पनि सिजरलाई आफ्नै बाबुसरह
तर, ब्रुटसले नै संसद्मा जुलियस सिजरको हत्या गरे
विलियम सेक्सपियरले लेखेबमोजिम
त्यसपछि उर्लिएको जनतालाई ब्रुटसले सम्झाए–
‘म उनलाई कम माया गर्दिनँ, तर रोमलाई धेरै बढी माया गर्दछु ।’
अनि देख्छु म यी दास भएकाहरू
झिमझिम गर्ने मूर्तिसरहका जिउँदा लासहरू
पार्टीका नाउँमा व्यक्ति लम्पट भएर अर्को राउन्ड पर्खेकाहरू
डिडिटी पचाएका लामखुटेजस्तै
भ्रष्टाचार पचाएका यी भनभनाइ रहेका छन्
यस्तैयस्तै मात्रै यो मुलुकले कहिलेसम्म बेहोर्नुपर्ने ?
नुन नभएको अलिनो कानुन पारिएको देश भएर होला
जति शासकीय वीर रस जनताले भरिदिए पनि
रूपान्तरित भइरहेको छ बीभत्स रसमा ।
भित्रिया टुटफुट भएका त्रिमूर्तिको असन्तुलनको नाच
बाहिरिया द्वन्द्वात्मक त्रिमूर्तिको रस्साकस्सी खेलले होला
अन्धेरमा परेको जहाज जस्तो
मुकाम नभएको देश बन्दै गएको
दुईपटकको इन्टरपोल छलेर आफ्नै पोलमा गोल आउँदा पनि
गोल हान्न नसक्ने लाछीहरूले
केका लागि मैदानमा जर्सी लगाएर फ्वाँफ्वाँ गर्दै दौडिरहेका ?
लाग्छ यी त उल्टो आत्मघाती गोल हान्ने तरखर गरिरहेका छन् ।
भ्रष्टाचारको शिखरत्व अर्थात् सर्वोच्च उचाइका यी
नेतृत्वदायी ‘लफंगाहरू’को शक्ति छिन्नभिन्न हुँदा
अर्नाबाट ‘किर्ना’ बनेका
पानीबिनाको माछाजस्तो छटपटाइरहेका
शक्ति प्रियाको नसा चढाउन पिलाइएको ‘होली वाइन’बाट
‘स्वाइन’ बनाइएकालाई
‘ग्रेपभाइन कनेक्टिभिटी’को बोलवालामा
फेरि धर्मको पाइन चढाइएर उत्तेजित पारिँदै
सभ्यताको टकरावको विस्तारित झझल्को
सात समुन्द्रवारिको असन्तुलित लहरमा देखिँदै छ
डलर नपचेर अजीर्ण हुँदा अबको भोजन नै विष हुन सक्छ
प्याला टुट्यो भने आफ्नै टुटफुटबाट आफैँलाई चोट लाग्न सक्छ
नपत्याए इतरको भितर नै तितरबितर हुँदै गएकालाई सोध
उपयोगिताको खेलमा भेल धान्न नसक्ने ठहरिए
बट्टाई लडाउनेहरूले–
हार्ने बाजीलाई पाजी बनाइदिन सक्छन् ।
यो देख्दा लाग्छ
यहाँ गोटी बनेका शिखरत्वको
अदलीय–बदली
स्वागत–बिदाइ
भ्रम–परिभ्रम
अन्तर–सहमतिपूर्ण रूपान्तर
बाहिरिया–त्रिमूर्ति रस्साकस्सी खेलको परिणति बनेर
चौबाटोमा दुईमुखे बग्गी जोतिएको यो अवस्थामा
शिखरत्वको स्वागतमा बिदाइ हुने कसको ?
महाभारतको अनुशासन पर्वमा झैँ उपदेशको पेटारो खोल्दै
के यहाँ कसैको मृत्यु हुन लागेको हो ?









Facebook Comments