काठमाडौँ । त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त सडक तथा पुल अस्थायी रूपमा सञ्चालनमा ल्याउने काम तीव्र पारिएको छ। गल्छी–देवीघाट–त्रिशूली सडकखण्ड अस्थायी मर्मतपछि सञ्चालनमा आइसकेको छ भने रसुवागढीसम्मको सडक सम्पर्क सहज बनाउन विभिन्न स्थानमा बेलीब्रिज जडानको तयारी अघि बढाइएको छ।

नेपाल सरकारसँग पर्याप्त लम्बाइका बेलीब्रिज मौज्दात नरहेपछि चीन, भारत, अमेरिका र संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका देशबाट बेलीब्रिज सहयोग लिन लागिएको सडक विभागले जनाएको छ। बाढीले क्षति पुर्‍याएका सडक तथा पुलको स्थायी पुनर्निर्माणका लागि भने प्रारम्भिक रूपमा ७३ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने आकलन गरिएको छ।

ad

भदौ १० गते आएको बाढीका कारण ६९ किलोमिटर सडक र ३७ वटा मोटरेबल पुलमा पूर्ण तथा आंशिक क्षति पुगेको छ। सडक विभागका इन्जिनियर सौजन्य नेपालका अनुसार अवरुद्ध सडक खुलाउन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विभिन्न टोली परिचालन गरिएको छ। अहिले प्राथमिकता रसुवागढीसम्मको सडकलाई सकेसम्म छिटो अस्थायी रूपमा सञ्चालनमा ल्याउने रहेको उनले बताए।

बाढीबाट क्षतिग्रस्त गल्छी–देवीघाट–त्रिशूली सडकखण्डको रातामाटे क्षेत्रमा नदी कटानले करिब १०० मिटर सडक पूर्ण रूपमा बगाएको थियो। उक्त स्थानमा सडक उत्खनन गरी नयाँ ट्र्याक खोलिएपछि यातायात सञ्चालनमा आएको विभागले जनाएको छ।

ठुलोखोला क्षेत्रमा सडकमा थुप्रिएको करिब २ देखि ३ मिटर बाक्लो लेदो हटाएर सडक खुलाइएको छ। ठुलोखोला–काशीटार–देवीघाट क्षेत्रमा थुप्रिएको पहिरो तथा लेदो हटाउने काम पनि सम्पन्न भएको छ। अब त्रिशूलीदेखि बेत्रावतीसम्मको सडक खुलाउने काम अघि बढाइएको छ।

बाढीले पूर्ण रूपमा क्षति गरेका ३३ पुलमध्ये तत्काल तीन स्थानमा बेलीब्रिज राख्ने योजना बनाइएको थियो। नुवाकोटको देवीघाटस्थित तादी नदी, त्रिशूली बजार र बेत्रावती बजारमा बेलीब्रिज जडान गर्ने तयारी भए पनि सडक पुनर्निर्माणमा देखिएको कठिनाइ र आवश्यक सामग्री ढुवानीमा भएको समस्याका कारण सबै स्थानमा कामले अपेक्षित गति लिन सकेको छैन।

नुवाकोटको देवीघाटमा भने ६० मिटर लामो एक्रो ब्रिज जडानको काम पूरा भइसकेको छ। नेपाली सेनाले पाँच दिनमै उक्त पुल जडान गरेको सडक विभागले जनाएको छ। कोल्पु खोलाको क्षतिग्रस्त पुल पनि अस्थायी मर्मत गरी सञ्चालनमा ल्याइएको छ भने यसको स्थायी मर्मतका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ।

देवीघाटमा पुल जडान भएसँगै गल्छीबाट देवीघाट हुँदै बट्टार, विदुर, त्रिशूली र गेर्खुसम्मको सवारी आवागमन सहज भएको छ।

अब बेत्रावतीमा बेलीब्रिज राख्ने काम अघि बढाइएको छ। पुलको जग निर्माण सुरु भइसकेको र आवश्यक सामग्री ढुवानीको काम थालिएको इन्जिनियर नेपालले बताए। बेत्रावतीमा करिब ७६ मिटर लामो बेलीब्रिज आवश्यक पर्ने देखिएको छ। पुल निर्माण भएपछि सदरमुकाम र बेत्रावतीबीचको सडक सम्पर्क पुनः जोडिनेछ।

सडक विभागको टोली अहिले बेत्रावती क्षेत्रमा केन्द्रित छ। बाढीले त्यस क्षेत्रमा करिब चार किलोमिटर सडक पूर्ण रूपमा क्षति पुर्‍याएको थियो। त्यसमध्ये ३.२ किलोमिटर सडक खुलाइसकिएको र बाँकी करिब ८०० मिटर सडक मर्मत भइरहेको विभागले जनाएको छ। जटिल भूगोलका कारण उक्त क्षेत्रमा सडक मर्मतमा अपेक्षाकृत बढी समय लागेको बताइएको छ।

फलाखु अर्थात् बेत्रावती खोलामा पनि बेलीब्रिज राख्ने काम अघि बढिरहेको छ।

त्रिशूली बजारमा अर्को बेलीब्रिज जडानका लागि प्राविधिक अध्ययन भइरहेको छ। यसअघि उक्त स्थानमा ६० मिटर लामो पुल रहे पनि बाढीले कटान गरेपछि खोलाको चौडाइ १२० मिटरभन्दा बढी पुगेको छ। खोलाको चौडाइ बढेकाले कति लामो र कुन प्रविधिको बेलीब्रिज कुन स्थानमा राख्ने भन्ने विषयमा अध्ययन तथा छलफल भइरहेको इन्जिनियर नेपालले बताए। प्राविधिक अध्ययनपछि यसबारे अन्तिम निर्णय गरिनेछ।

मुख्य राजमार्गका केही खण्ड मर्मतको क्रममा रहेकाले हाल टोखा सडक, धादिङबेँसी जाने बाटो तथा त्रिशूली पारिका वैकल्पिक मार्ग प्रयोग गरेर यातायात सञ्चालनमा राखिएको विभागले जनाएको छ।

सडक विभागसँग हाल ५० मिटर लम्बाइका १० वटा बेलीब्रिज मौज्दात छन्। तर बाढीबाट क्षतिग्रस्त अधिकांश स्थानमा ७० मिटरभन्दा लामो पुल आवश्यक पर्ने भएकाले ती पुल मात्र प्रयोग गरेर समस्या समाधान गर्न कठिन भएको विभागको भनाइ छ। त्यसैले विभिन्न देश तथा दातृ निकायसँग थप बेलीब्रिज माग गरिएको हो।

सडक विभागको पुल महाशाखाका प्रमुख ललिजन खनालका अनुसार विभागसँग मौज्दात रहेका बेलीब्रिज आवश्यक स्थानका लागि पर्याप्त लम्बाइका छैनन्। ‘हामीसँग स्टकमा भएको ५० मिटरको मात्र हो, त्यो हाल्ने ठाउँ नै छैन,’ उनले भने।

खनालका अनुसार देवीघाटमा नेपाली सेनाले ६० मिटर लामो बेलीब्रिज जडान गरिसकेको छ। अब बेत्रावतीमा ७६ मिटर लामो बेलीब्रिज राखिनेछ। बेत्रावती क्षेत्रमा पहिले सडक खुलाउने काम सम्पन्न गर्नुपर्ने भएकाले सडक छिचोलिएको ८ देखि १० दिनभित्र सेनाले बेलीब्रिज जडान गर्न सक्ने उनले बताए।

‘बेत्रावतीमा चाहिँ पहिला बाटो छिचोल्नु पर्‍यो । बाटो छिचोल्न अलिकति टाइम लाग्छ । त्यहाँ बाटो छिचोलिएको ८–१० दिनभित्रैमा बेलीब्रिज जडान हुन्छ । अस्ति आर्मीले देवीघाटमा गर्नुभएको थियो नि, उहाँहरूले त्यही स्पिडमा गर्नुहुन्छ,’ खनालले भने।

उनका अनुसार चीन, अमेरिका, यूएई र भारतले नेपाललाई बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। हालसम्म कुनै पनि दातृ मुलुकबाट बेलीब्रिज प्रत्यक्ष रूपमा सम्बन्धित साइटमा पुगिनसकेको भए पनि भारतको ७० मिटर लामो एउटा बेलीब्रिज हेटौँडा आइसकेको छ।

भारतबाट आउने अर्को बेलीब्रिजसमेत कोलकाताबाट ढुवानी भइसकेको जानकारी प्राप्त भएको खनालले बताए। उनका अनुसार त्यहाँस्थित भारतीय दूतावासका सेकेन्ड सेक्रेटरीबाट उक्त बेलीब्रिज सिपमेन्ट भएको जानकारी आएको हो।

चीनले कुल १०० मिटर लम्बाइको बेलीब्रिज सहयोग गर्ने प्रस्ताव गरेको छ। नेपालले बीचमा टेको नराखी एकल स्पानमा राख्न मिल्ने पुल मागेको भए पनि त्यस्तो प्रकारको बेलीब्रिज उपलब्ध नभएको खनालले बताए। चीनबाट अन्य बेलीब्रिज आउने क्रममा रहेको उनको भनाइ छ।

अमेरिकाले भने हवाईजहाजमार्फत बेलीब्रिज नेपाल पठाउने र अमेरिकी सेनाको टोली तथा नेपाली सेनाको सहकार्यमा हस्तान्तरण र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने जानकारी दिएको छ। यसका लागि रक्षा मन्त्रालयमार्फत प्रक्रिया अघि बढ्ने खनालले बताए।

नेपालले अमेरिकासँग १०० मिटर वा सोभन्दा लामो बेलीब्रिज माग गर्दै आवश्यक विवरण पठाइसकेको भए पनि उक्त पुल कहिले र कुन रूपमा प्राप्त हुन्छ भन्ने अझै निश्चित नभएको उनले स्पष्ट पारे।

तत्काल सडक र पुल सञ्चालनमा ल्याउने काम भइरहेको भए पनि बाढीबाट क्षतिग्रस्त संरचनाको स्थायी पुनर्निर्माण भने ठूलो चुनौतीका रूपमा देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित निकायले तयार पारेको ‘विपद्को द्रुत क्षति तथा आवश्यकता आकलन’ (आरडीएनए) प्रतिवेदनअनुसार क्षतिग्रस्त सडक तथा पुलको स्थायी पुनर्निर्माण र पुनर्स्थापनाका लागि मात्रै ७३ अर्ब ३४ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ।

बाढीबाट ३७ वटा मोटरेबल पुल प्रभावित भएका छन्। तीमध्ये ३३ वटा पूर्ण रूपमा बगेका छन् भने चारवटामा आंशिक क्षति पुगेको छ। त्यस्तै ग्रामीण क्षेत्रमा आवागमनको महत्वपूर्ण आधार रहेका ६८ वटा झोलुङ्गे पुलमध्ये ५३ वटा पूर्ण रूपमा नष्ट भएका छन्।

यी संरचनाको दीर्घकालीन पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्ने भए पनि अहिले सडक विभागको प्राथमिकता अस्थायी तथा द्रुत पुनर्स्थापनामार्फत नागरिकलाई यातायात सुविधा उपलब्ध गराउनु रहेको छ।