दुखेर म रोइरहँदा ती हाँसेर पाँचतारे पार्टी गरिरहेका।

के यिनै हुन् मैले देखेका?
मेरो दुःख साट्न तँछाडमछाड गर्ने
मुलुकभरिकालाई घाँटी फुलाएर आह्वान गर्ने
भाषण गर्दागर्दै करुणा भरिएर पोखिन खोजेकाहरू
हस्याङ र फस्याङ गर्दै दौडिरहेका
एउटा प्रलयसँग जुझ्ने आँट र अठोट देखाएर
मेरो दुखिरहेको घाउमा मलम लगाउने।

ad

तरुनो बन्दै गएको पार्टीमा आह्लादित भइरहेका
अवर्णनीय पीडाबाट रोएको मेरो आवाज नै
उनीहरूको रमझमको सङ्गीत बनेको
अवतरितलाई अच्युतसरह नै ठानेर
अच्युतानन्दको सामीप्यमा सर्वोच्चानन्द लुटिरहेका
यसका चित्रहरूले भरिएका सामाजिक सञ्जालहरू।

म त जिल्ल परेको छु त्यो ठिटो देखेर
जो आगन्तुकले गरेको उसको तारिफ–सिफारिसमा
भावविभोर लट्ठ भएर दङ्ग परेको छ
महत्त्वाकाङ्क्षाको अवसरवादी शिखर चुम्ने लोभले
ऊ त हाकाहाकी अश्लीलता चुमिरहेको छ।

कसरी मिसाएको छ उसले लाजभाँड
निर्लज्ज छाडापन उदाङ्ग देखाएर!
व्यावसायिकताभित्र उसको यो मिसावट
अश्लीलताभित्र नै दुवै पर्छन्– लाजभाँड र छाडापन
तर व्यावसायिकताभित्र भने यी दुवै पर्दैनन्।

मेरो आँसु पुस्न रुमाल लिएर उभिइरहनुपर्ने जिम्मेवारीमा ऊ
जिम्मेवारीबाट च्युत भएर
अवतरित व्यक्तिलाई अच्युत ठानेर होला उसले
स्वर्णिम अवसरको कल्पनामा लीन भएर बहँदै जाँदा
आराध्यदेव मान्न पुग्यो
मलाई त उसले चटक्क छोडी नै दियो।

मान्छेलाई मान्छे बनाएर बचाउने ढुकढुकी हो संवेदना
यदि त्यो म¥यो भने मान्छे बाँचेर पनि बाँचेको हुँदैन
एउटा पाखण्डी, अनैतिक र ढोँगी बन्छ
विवेक हराउँछ मानवीयताको पतन भएर
संवेदनाहरूको मृत्यु हुन्छ।

अनि अरूको पीडामा पनि निर्दयी बन्न सक्छ ऊ
आफ्नो स्वार्थ र महत्त्वाकाङ्क्षाका लागि
यसलाई नै भनिन्छ अश्लीलता
जति घनीभूत हुन्छ त्यति बन्छ निकृष्ट अश्लीलता
यस्तै मान्छेहरू छन् अगुवा बनेका यहाँ, यत्रतत्र
भेटिने ककटेल पार्टीहरूको चकाचकमा।

आफ्नो गाउँको कुकुरमा देखेको थिएँ इमान र बफादारी
यी त कुकुरभन्दा तलका रहेछन्
नत्र म कसरी वर्णन गरूँ
मृत संवेदनापछिको त्यो अश्लीलतालाई?
कसरी भनूँः
त्यो फेक थियो,
अवसरवादी महत्त्वाकाङ्क्षाको लेप थियो,
मेरो आँसुमा खेलिएको खेल थियो।